बाँके ।
नेपालगन्ज पश्चिम क्षेत्रको स्वास्थ्य, शैक्षिक र व्यापारिक केन्द्र मानिन्छ । साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्लाका मानिस स्वास्थ्य उपचार गर्न, पढ्न र व्यापार व्यवसायका लागि नेपालगन्जमा आइपुग्छन् ।
नेपालगन्ज ऐतिहासिक शहर पनि हो । देशकै पुरानोमध्येको शहर हो, नेपालगन्ज । इस्टइन्डिया कम्पनीका विरुद्धमा लखनउमा भएको गदर दबाउन नेपालका श्री ३ जंगबहादुर राणा नै फौज लिएर उपस्थित भएपछि खुसी भएका अंग्रेजले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता गरिदिएको थियो । ‘नयाँ मुलुक’को नामबाट समेत चिनिएको यी चार जिल्लाको प्रमुख केन्द्र नै नेपालगन्ज स्थापित भयो ।
नेपालगन्ज पर्यटकीय प्रवेशद्वार पनि हो । भारतको ठूलो शहर लखनउ नजिक पर्ने भएकाले नेपालगन्ज हुँदै यस क्षेत्रमा भारतीय पर्यटकको प्रवेश हुने गर्दछ । भारतीय विशेष गरेर मानसरोवर जाने गर्दछन् । नेपालगन्जमा अहिलेसम्म स्थलमार्ग भारतीय पर्यटकको उपस्थिति हुने गरेको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाएर भारतको दिल्ली र लखनउसम्म जोड्न सकेमा पर्यटकको संख्या अझ बढ्ने देखिन्छ । यो काम गर्नका लागि नेपालगन्जको मेयरको भूमिका प्रमुख हुने गर्दछ ।
राणाकालमा आफ्नै भाइभारदारबाट लखेटिएका श्री ३ जंगबहादुर राणा र श्री ३ देवशमशेर राणाका सन्तानहरु ‘आममाफी’ पाएपछि नेपालगन्जमा बसोबास गरेकाले पनि नेपालगन्जको महत्व बढेको भन्नेहरु धेरै छन् । भारतीय शहर रुपैडिहामा रेलमार्ग रहेकाले नेपालगन्ज आवत–जावत गर्न सहज थियो ।
२००७ सालको क्रान्तिमा नेपालगन्जको भूमिका अझ गौरावन्वित रहेको छ । प्रजातान्त्रिक कांग्रेसको अखडा मानिएको नेपालगन्जबाटै पश्चिममा डडेल्धुरा र पूर्वतर्फमा पाल्पासम्मको आन्दोलनको रुट नेपालगन्ज नै थियो । जनमुक्ति सेनाका कमान्डर पुरन सिंह, जीवी याक्थुम्बा, महेन्द्र शाहहरु नेपालगन्ज र सीमामा आइरहन्थे । आन्दोलनको राँको जलाउँथे । स्थानीय नेताहरुले दरिलो साथ दिन्थे ।
नेपालगन्ज नगर पञ्चायत बन्दा योभन्दा पुराना शहर तीन/चार वटा थिए । इतिहासलाई जोडेर हेर्दा नेपालगन्ज विकासमा भने धेरै पछाडि परेको भन्न करै लाग्छ । २०४६ सालमा पुनः प्रजातन्त्र फर्किएपछि नेपालगन्जमा दुई जनाले मेयर बन्ने सौभाग्य प्राप्त गरे । विजय गुप्ता र डा. धवलशमशेर राणा । राणा दुईपटक मेयर भए, २०५४ र २०७४ मा । त्यसपछि गुप्ता मेयर थिए । डा. राणाको दोस्रो मेयरको कार्यकाल सकिँदै छ । उनी श्री ३ देवशमशेर राणाका पनाति हुन् । सरल स्वभावका कारण डा. राणाले पार्टी कमजोर हुँदाहुँदै व्यक्तिगत रूपमा मत ल्याएर चुनाव जितेका थिए ।
स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा यो ऐतिहासिक शहरको विरासत हडप्न दल र नेताहरु मैदानमा देखिन थालेका छन् । अहिलेसम्म दलहरुले आधिकारिक रूपमा यो नै आफ्नो मेयरको उम्मेदवार भनेर बाहिर भनिसकेका छैनन् । तर, भित्रभित्र नेताहरुलाई ‘ग्रिनसिग्नल’ दिएर मैदानमा पठाउने काम भने गरिरहेका छन् ।
लगातार दुईपटक मेयर बनेका डा. राणाको पार्टी राप्रपाबाट अहिलेसम्म मेयरका लागि कुनै नेताको नाम अगाडि आएको छैन । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले दुई/चार दिनमा राप्रपाको मेयरदेखि माथिको उम्मेदवारको टुंगो लाग्ने बताउनुभएको छ । ‘अहिले हामीले कसैको नाम बाहिर ल्याएका छैनौं, दुई/चार दिनमा टुंगो लाग्छ ।’ –सहायक महामन्त्री देवकोटाले भन्नुभयो ।
राप्रपाका महामन्त्रीसमेत रहेका मेयर डा. राणाले फेरि मेयरमा चुनाव नलड्ने उद्घोष गरिसक्नुभएको छ । डा. राणा नेपालगन्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ बाट संघीय सांसदमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।
स्रोतका अनुसार, राप्रपाले नेपालगन्जको मेयर र यस क्षेत्रको संघीय सांसदका लागि कार्यगत एकता गर्न चाहेको छ । उसले एमालेलाई मेयर छोडेर संघीय सांसदमा आफ्नो उम्मेदवारलाई सघाउन एमाले नेतृत्वसँग छलफल चलाइरहेको छ । यस विषयलाई इन्कार नगरेका राप्रपाका सहायक महामन्त्री देवकोटाले जे–जे हुन्छ, केही दिनमै हुने प्रतिक्रिया दिनुभयो ।
नेकपा एमालेले पशुपतिदयाल मिश्रलाई मेयरका रूपमा अगाडि सार्ने पक्कापक्की जस्तै छ । हृदेयश त्रिपाठी संयोजक रहेको स्वतन्त्र समूहमा रहँदा २०७४ सालको चुनावमा एमालेको चुनाव चिह्नबाट नेपालगन्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट संघीय सांसदमा चुनाव लडेका मिश्र एमाले प्रवेश गरेर मेयरको दाबी गरेका छन् । एमाले प्रवेश गर्दा नेपालगन्जको मेयरमा चुनाव लड्ने इच्छा देखिएकाले एमालेका शीर्ष नेतृत्वबाट त्यो आश्वासन दिइएको एमाले नेताहरु बताउँछन् । मिश्र नेपालगन्जमा जनाधार भएका नेता नै गनिन्छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रले आन्तरिक रूपमा प्रचार–प्रसार र भेटघाट थालिसकेका छन् । यद्यपि, पार्टीले उम्मेदवार घोषणा भने गरिसकेको छैन ।
एमालेका जिल्ला सचिव रत्न खत्रीले पार्टीले जनाधार भएको र जित्न सक्ने व्यक्तिलाई नेपालगन्जको मेयर बनाउने बताउनुभयो । ‘हामीले नेपालगन्जमा जित्न सक्ने र जनाधार भएको नेतालाई उम्मेदबार बनाउने हो’, जिल्ला सचिव खत्रीले भन्नुभयो– मिश्र हुने सम्भावना बढी छ ।’
तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला र शहर रहेको नेपालगन्जमा कांग्रेसको उम्मेदवारमा रस्साकस्सी देखिएको छ । अहिलेसम्म चार जनाको नाम बाहिर आएको छ । २०७४ सालको निर्वाचनमा मेयर लडेका डा. सुरेश कनोडिया, हालकी उपमेयर उमा थापामगर, पार्टीका नगर सभापति प्रशान्त विष्ट र व्यापारिक नेता अच्युत प्रसाईंको नाम चर्चामा रहेको छ । चारै जनाले आफूलाई मेयर बनाउन लबिङ गरिरहेका छन् ।
जिल्ला सचिव सुधांशु कोइरालाले गएको चुनावमा ११ जना उम्मेदवारको नाम आएको र यसपालि पनि त्यसकै नजिक–नजिक पुग्ने देखिएको बताउनुभयो । ‘आकांक्षा त धेरैले गरेका छन् । कनोडिया, थापा, विष्ट र प्रसाईंमध्ये नै एक जना मेयरको उम्मेदवार हुने सम्भावना रहेको छ ।’ –जिल्ला सचिव कोइरालाले भन्नुभयो ।
डा. कनोडिया नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन् । गएको निर्वाचनमा उनी निकटतम प्रतिस्पर्धी थिए । चुनाव नजिकिँदै गर्दा डा. कनोडियाको दौडधूप बढी नै देखिन्छ । लामो यमसदेखि नगर सभापति रहेका विष्ट र उपमेयर थापाले बलियो दाबी गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष हुँदै महासंघको केन्द्रीय सदस्य भइसकेका प्रसाईं पनि नेपालगन्जका चर्चितमध्येकै नाम मानिन्छ । बाहिर बजार धेरै चर्चा नभए पनि प्रसाईंको पार्टीमा दाबी रहेको छ ।
नेकपा माओवादी केन्द्रबाट तीन जनाको नाम चर्चामा आएको छ । नेता नवीन शर्मा, नन्दलाल वैश्य र आदेश अग्रवालको नाम बाहिर आएको छ । नेपालगन्जको ठूलो जनमतलाई आफूसँग राख्न सफल माओवादीका नेता दामोदर आचार्यको हालै निधन भएको थियो । पार्टीका चर्चित नेता नवीन नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वैश्य र संघसम्बद्ध नेता अग्रवालको मेयरमा दाबेदारी रहेको छ । पार्टीले कसलाई टिकट दिन्छ, अहिलेसम्म कुनै टुंगो नलागेको नेताहरु बताउँछन् ।
त्यसै गरी, नेपालगन्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव जितेका मो. इस्तियाक राईको पार्टी जनता समाजवादीले जिल्ला अध्यक्ष कमरुद्दिन राईलाई मेयर उम्मेदवार बनाउने पक्काजस्तै छ । पूर्वमन्त्री इस्तियाकको बजारमा राम्रै प्रभाव रहेकाले जनता समाजवादीको उम्मेदवारलाई नजरअन्दाज गर्न मिल्ने देखिँदैन । विकासमा भेदभाव भएकाले आफूले मेयरमा उम्मेदवारी दिएको कमरुद्दिनले बताउँदै हिँडेका छन् ।
नेपालगन्जमा मिश्रित समुदायको बसोबास रहेको छ । हिन्दू, मुस्लिम, बौद्ध, क्रिस्चियन समुदाय छ । हिन्दू र मुस्लिमको बाक्लो बसोबास रहेको छ । शिव सेना नेपालको बजारमा राम्रै उपस्थिति छ । यसबाट होटल व्यवसायी दिवाकर खनालले मेयरको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शिव सेनासम्बद्ध हिन्दूको मतलाई खनालले प्रभाव पार्ने देखिन्छ । पार्टीहरुले उम्मेदवारको टुंगो लगाईनसकेकाले कार्यक्रम र मास देखाउने प्रतिस्पर्धा शुरु भइसकेको छैन । उम्मेदवार हुन आकांक्षी रहेका नेताहरु पार्टी कार्यालय, केन्द्र र टोल महोल्लातिर सक्रिय भएको देख्न सकिन्छ ।
नेपालगन्जलाई हवाई उडानमा भारतसँग जोड्ने आगामीको मेयरको मुद्दा हुन सक्छ । भेरी अस्पतालको स्तरोन्नति सबैजसो उम्मेदवारको नजरमा पर्ने देखिन्छ । खुला सीमाको व्यवस्थापनसँगै यहाँका तालतलैयाको संरक्षण र पर्यटकीय स्थलका रूपमा विकास गर्ने, ढल नाली र सडकको स्तरोन्नति, कन्या स्कुल र कलेजको व्यवस्थापन नेपालगन्जका समस्या र चुनौतीका रूपमा रहेका छन् ।











प्रतिक्रिया