काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, आज उद्घाटन हुँदै

0
Shares

काठमाडौं ।

पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सम्पन्न भएको सो सम्पदाको आज सोमबार उद्घाटन हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्न लाग्नुभएको हो । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यका अनुसार राष्ट्रपति भण्डारीले सो सम्पदाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समितिले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुनर्निर्माण शुरू भएको थियो । कामपाको स्वामित्वमा रहेको काष्ठमण्डप कसले पुनर्निर्माण गर्ने ? भन्ने विषयमा विवाद भइरहँदा प्रदेश सांसद राजेश शाक्यको संयोजकत्वमा स्थानीयको सहभागितामा ५५ सदस्यीय समिति निर्माण गरी पुनर्निर्माण शुरू गरिएको थियो । पत्रकार सम्मेलनमा संयोजक शाक्यले भन्नुभयो– ‘काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ हजार क्युफिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको थियो ।’

उहाँका अनुसार करिब १ लाख ६० हजार मा अप्पा, १५ हजार तेलिया इँटा प्रयोग भएको छ । कामपा र पुरातत्व विभागले करिब १९ करोड खर्च हुने इस्टिमेट गरेपछि खर्र्चको विषयमा विवाद बढेको थियो । इस्टिमेटमा शंका लागेपछि कामपाले आफ्नै खर्चमा पुनर्निर्माण गर्ने योजना बनाएको थियो । सोही योजनाको आधारमा शुरू गरिएको पुनर्निर्माण सम्पन्न गर्न करिब साढे ११ करोड रुपियाँ खर्च भएको थियो । हालसम्म कामपाले ११ करोड ५० लाख रुपियाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । काष्ठमण्डप पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको छ । अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ । पुरातात्विक महत्वको काष्ठमण्डप काठैकाठले बनेको छ ।

भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौं शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले पनि औंल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।

अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७औं शताब्दी हाराहारीमा भएको हुन सक्ने प्रमाणहरू भेटिएको थियो । काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो ।