गौरी प्रधानसँग ‘बाल अधिकार संवाद’ 



काठमाडौं । 

बाल अधिकारमुखी संस्था सिविन नेपालले बिहीबार ‘गौरी प्रधानसँग बाल अधिकार संवाद’ कार्यक्रम ललितपुरमा सम्पन्न गरेको छ । कार्यक्रममा बाल अधिकारको विषय राष्ट्रिय गौरवको विषयमा संवाद भएको थियो । उक्त कार्यक्रममा नेपालको सामाजिक आन्दोलनहरू मध्ये तुलनात्मक कान्छो तर सुव्यवस्थित आन्दोलनका रूपमा स्थापित बाल अधिकार आन्दोलनको बीजारोपण भएको ३५ वर्षको अवसरमा भएको हो ।

कार्यक्रमको पहिलो शृङ्खलामा भौतिक उपस्थिति एवम् अनलाइन माध्यममा सञ्चालन भएको छ । नेपालको बाल अधिकार आन्दोलनका नियमित प्रणेता गौरी प्रधानसँग समसामयिक बाल अधिकारसँग जोडिएका विषयहरूमा छलफल भएको छ । प्रधानले यस अवधिमा बालबालिकाहरू आफ्नो अधिकारका लागि ग्रामीण स्तरदेखि राष्ट्रिय स्तरसम्म पुगेको र उनीहरू बाल क्लबहरु मार्फत पनि सशक्त बनेर समाजमा उदाहरणीय कामहरूसमेत गरेको बताउनुभयो । बालबालिकाको विषयले नीति निर्माणको तह र सरकारी स्तरमा पनि प्राथमिकता पाएको प्रधानले बताउनुभयो । प्रधानले बाल अधिकारको बारेमा भावी योजनामा खबरदारी, साझेदारी र जिम्मेवारी भएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानले सन् २०२० मा सबै क्षेत्रमा लैङ्गिक समानताका कुराहरू भन्ने अवधारणा निर्माण गर्दै, बहस र पैरवी पनि गर्दै आएको बताउनुभयो । यस विषयमा सरकार, राजनीति गर्ने तथा नागरिक समाजबाट पनि सकारात्मक दृष्टिकोण रहेको बताउनुभयो । बालबालिकाको हकहितमा सरकारले लगानी गरेता पनि अझै पर्याप्त नभएको समेत प्रधानले बताउनुभयो ।

राष्ट्रिय किशोरी सञ्जालकी अध्यक्ष लनिता तामाङले नेपाली बालबालिकाहरूको अधिकार, संरक्षण, विकास र सहभागिताको पक्षमा आम सरोकारवालाहरुको नीति र कार्यक्रमहरूमार्फत पहल गरियोस् भन्ने चाहना व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेतीले कार्यक्रममा बाल अधिकारको विषयलाई सङ्घीयताको सवालमा स्थानीय तहमा पनि आवश्यक भएको बताउनुभयो । नयाँ नेतृत्वमा पनि बालबालिकाको हकको मुद्दालाई समेट्नुपर्ने उहाँले बताउनुभयो । रुपाखेतीले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने हिसाबले घोषणापत्रमा लैजानसमेत आग्रह गर्नुभयो ।

कीर्तिपुर नगरपालिकाकी अनुज प्रधानले बालबालिका मानसिक अवस्थामा परिपक्व नभई सकेको अवस्थामा उनीहरूलाई गरिने व्यवहारले पनि मानसिक असर पर्ने भएकाले बाल अधिकारको क्षेत्रमा लागेका सम्पूर्ण सङ्घसंस्था, गैरसरकारी संस्थाहरू एकजुट भएर काम गरेमा मात्र सफल भइने कुराको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्