विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



पर्वत ।

पर्वतको कुस्मा नगरपालिका–१ पाङका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । पाङको ततारकोट गणेश आधारभूत विद्यालय तरतरकोट र लक्ष्मी आधारभूत विद्यालय गहतारा आँगाखेतका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

पाङ कुनाचौरस्थित पाङ धैरेनी माध्यमिक विद्यालयकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष स्वस्थानी रिजालले नजिकका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुभएको हो । गणेश आधारभूत विद्यालयमा ५२ जना र लक्ष्मी प्राविका ३२ जना विद्यार्थीलाई कापी, पेन्सिल तथा इरेजर, साप्नर लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

आफ्नो कार्यकालमा उहाँको नेतृत्वमा विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा नगरपालिकाकै नमुना विद्यालयका रूपमा स्थापित गर्न प्रयास गरिरहनुभएकी रिजालले अन्य ठाउँमा पनि निरन्तर विद्यार्थीलाई सहयोग गर्दै जाने बताउनुभयो । बालबालिकाको शैक्षिक अवस्थामा सुधारका लागि सहयोग गर्ने आफ्नो इच्छा भएकाले सहयोग गरेको उहाँको कथन छ ।

रिजालले यसअघि विपन्न परिवारका बालबालिका चिसोमा कठ्यांग्रिँदै विद्यालय जानुपरेको देखेर कुस्मा नगरपालिका आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालय र अँधेरी नेटास्थित जनकल्याण आधारभूत विद्यालय, मोदी गाउँपालिकाको आदर्श आधारभूत विद्यालय तथा कुस्मा नगरपालिका–२ खुर्कोटको खाल्टास्थित दलित बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

यसै गरी, पर्वतको कुस्मा नगरपालिका–१४ ऐंसेलुचौरस्थित प्रगति आधारभूत विद्यालयमा स्थानीय समाजसेवी सरस्वती शर्माले पनि शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । अँधेरी नेटा निवासी शर्माले विद्यार्थीका लागि आवश्यक कापी, पेन्सिल, इरेजर, साप्नरलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्