म्यादी प्रहरी छनोट शुरू



ताप्लेजुङ, (नेस) ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरीका छनोट शुरु भएको छ । मंगलबारदेखि ताप्लेजुङको समरमुकाम फुङ्लिङमा छनोट कार्य शुरु गरेको हो ।

ताप्लेजुङका लागि ६ सय ४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर, १ हजार ६ सय २ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् । यो माग संख्याको अढाइ गुणा बढी होे । शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटअप, पुसअपलगायतका प्रारम्भिक स्वास्थ्थ परीक्षण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधबार ८ सय जनाको छानोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदरलाई शुक्रबार लेखित परीक्षा सामेल गरिनेछ । लेखितमा सफल हुने उम्मेदरलाई मौखिक अन्तरर्वाता हुनेछ । छनोट भएका उम्मेदरहरुलाई चैत २८ गते प्रशिक्षण हुनेछ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २ सय ४० रुपियाँ, खाद्यान्नबापतको एकमुष्ट ७ हजार २ सय र अन्य पोशाक तथा सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपियाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन–जान तयारीस्वरूप प्रतिम्यादी प्रहरी (एकपटकका लागि) १ हजार रुपियाँ उपलब्ध गराइनेछ । बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्