गोसाइँकुण्ड जिल्लाकै उत्कृष्ट पालिका



रसुवा, (नेस) ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) रसुवाअन्तर्गत जिल्लाको पाँच स्थानीय तहमध्ये गोसाइँकुण्ड गाउँपालिका उत्कृष्ट भएको छ । गोसाइँकुण्डले ६८ दशमलव ७५ अंक हासिल गरेर प्रथम स्थान हासिल गरेको हो ।

वागमती प्रदेशअन्तर्गत आर्थिक बर्ष २०७७/०७८ मा कार्यसम्पादन गर्दा कालिका गाउँपालिकाले ६४ दशमलव २५ नौकुण्ड गाउँपालिकाले ६१ दशमलव ७५ उत्तरगया गाउँपालिकाले ६१ दशमलव ५ अंक प्राप्त गरेकाछन् ।

आमाछोदिङमो गाउँपालिकाले भने स्वमूल्याङ्कनको नतिजा उपलब्ध नगराएको र पठाउन अनुरोध गरे पनि अटेर गरेको बताइएको छ । मन्त्रालयले तयार गरेको सफ्टवेयर लिजामार्फत स्थानीय तहहरुलाई विभिन्न दशवटा विषयगत क्षेत्रमा १ सयवटा सूचक राखी वार्षिकरूपमा मूल्यांकन गरेको हो ।

जसमा वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका साथै सहकार्य र समन्वयका विषयक्षेत्र छुट्टाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्