बिर्तामोडमा बढ्यो चुनावी सरगर्मी



भद्रपुर ।

बिर्तामोडको सामाजिक संघ–संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केही वडामा जित्यो ।

झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोड नगरपालिकामा यति बेला चुनावी सरगर्मी बढेको छ । मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको नेकपा एमाले वैशाखमा हुन गइरहेको निर्वाचनमा फेरि बहुमत कायम गरेर जाने योजना बनाइरहेको छ । चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गरिहरेको एमालेमा मेयर, उपमेयर पदका लागि आकांक्षीहरु पार्टी नेतृत्वसँग उम्मेदवार सिफारिसका लागि माहोल बनाइरहेका छन् ।

जिल्लाकै राजनीतिक केन्द्र भएको बिर्तामोडमा पार्टीका सबै तहका नेताहरुले आकांक्षा राख्नुलाई स्वाभाविक मानिएको छ । मेयरमा आधा दर्जन नेताहरुले आकांक्षा व्यक्त गरिरहेको एमाले वृत्तमा चर्चा हुन थालेको छ । मेयरका लागि बहालवाला मेयर धु्रवकुमार शिवाकोटी नै जोडतोडका साथ लागिपर्नुभएको छ । उहाँ एक कार्यकाल दोहोर्याउने मनशायमा खुलेर लागेको पाइएको छ । पाँच वर्षमा आफ्नो नेतृत्वमा धेरै काम भएको बताउने मेयर शिवाकोटीले आफ्नै नेतृत्वका बाँकी कामहरु सक्नुपर्ने जिकिर गर्नुभएको छ ।

यस्तै, बहालवाला उपमेयर पवित्रा महतरा मेयरको कडा दाबेदारको रूपमा देखिनुभएको छ । उहाँले आसन्न निर्वाचनमा मेयरको उम्मेदवार बन्न पाउनुपर्ने माग गर्नुभएको छ । पार्टीभित्र र नगर क्षेत्रमा विवादरहित कार्यकाल पूरा गर्ने महतराले मेयरमा महिलाको नेतृत्व हुनुपर्ने मागलाई केन्द्र तहसम्म पुर्याउनुभएको छ । प्रदेश सांसद एकराज कार्की पनि मेयरमा उठ्ने तयारीमा लाग्नुभएको छ । लामो समयदेखि मेयरको उम्मेदवार बन्ने गरी काममा लाग्नुभएका कार्कीले प्रदेश छोडेर स्थानीय पालिकामा काम गर्ने इच्छा देखाउनुभएको छ ।

मेयर पदका लागि कर्मचारी क्षेत्रबाट आउनुभएका देवराज कार्की पनि चर्चामा हुनुहुन्छ । नेकपा एमाले बिर्तामोडका इन्चार्जसमेत रहनुभएका कार्की नगरपालिकाको कर्मचारीबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको छ । यस्तै, बौद्धिक क्षेत्रमा अगुवा मानिएका उमानाथ ओली अर्का उम्मेदवारका आकांक्षी हनुहुन्छ । मेची क्याम्पसका पूर्वप्रमुखसमेत रहेका ओली पार्टीको अग्रमोर्चामा क्रियाशील भने हुनुहुन्न ।

त्यसै गरी, मेयर पदका अर्का आकांक्षीका रूपमा विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौला टिकटको लविङका लागि बालकोट पुगिसक्नुभएको छ । नगरको उपमेयरमा ६ जना आकांक्षी देखिनुभएको छ । प्रेस काउन्सिल नेपालका सदस्य एवं रेडियो भिजनका सञ्चालक गणेश पोखरेल, वडा नं. ९ को वडाध्यक्ष पवित्रा पाठक, वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, पार्टीको प्रदेश कमिटी सदस्य टीका घिमिरे, पार्टीका २ नं. क्षेत्रीय कमिटी संयोजक बद्री भट्टराई र सहसंयोजक प्रवीण पोखरेल उपमेयरको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले निर्वाचन जित्ने गरिका उम्मेदवार पार्टीले सिफारिस गर्ने जानकारी दिनुभयो । विगतको जस्तो केही ठाउँ गुमाउने छुट एमालेलाई नभएको उहाँले बताउनुभयो । विर्तामोडमा सबैभन्दा बलियो संगठन एमालेकै भएकाले हाम्रो जीत निश्चित भएको उहाँका भनाइ छ ।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जलकुमार गुरुङलाई मेयर पदमा ८ सय ९५ मतले एमालेका धु्रवकुमार शिवाकोटी निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गर्नुभएको थियो । राप्रपाबाट उम्मेदवार बनेका भक्ति सिटौलाले ६ हजार १ सय ७० मत ल्याउनुभयो । यस्तै, माओवादीबाट मेयर पदमा निर्वाचन लडेका चन्द्रप्रसाद कडरियाले ३ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको थियो । बिर्तामोडमा नेकपा एमालेका लागि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको गत निर्वाचनको तथ्याङ्कमा देखिन्छ ।

अर्कोतर्फ राप्रपाले ठूला दललाई चुनौती दिने गरी निर्वाचनमा होमिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राप्रपाभित्र उम्मेदवारहरुको चर्चा पनि चुलिएको छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा विर्तामोडको मेयरमा राप्रपाबाट भक्ति सिटौला उम्मेदवार बन्नुभएको थियो । उहाँलाई नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका धु्रवकुमार शिवाकोटीले पराजित गर्नुभएको थियो । सिटौलाले ६ हजार १ सय ७० मत गर्नुभएको थियो । शिवाकोटी ९ हजार १ सय १२ मत प्राप्त गर्दै मेयरमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचनमा पुनः भक्तिप्रसाद सिटौला उम्मेदवार बन्ने चर्चा चुलिएको छ । सिटौला पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्तासमेत हुनुहुन्छ । उहाँ लामो समय नेपाली कांग्रेसको राजनीतिबाट राप्रपाको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । विर्तामोडमा लोकप्रिय मानिएका सिटौलाले बिर्तामोडमा माओवादीको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको थियो ।

राप्रपाको तर्फबाट भक्ति सिटौला, सामाजिक व्यक्तित्व राजकुमार पोखरेल, पार्टीको वर्तमान नगर अध्यक्ष रञ्जु प्याकुरेल र जिल्ला उपाध्यक्ष धु्रव उप्रेती मेयर पदका दाबेदार हुनुहुन्छ ।झापामा तेस्रो शक्ति बनेको राप्रपा आउँदो निर्वाचनमा थप जित हासिल गर्ने गरी तयारीमा लागेको छ । निर्वाचन केन्द्रित अभियानमा क्रियाशील रहेको राप्रपाले नेकपा एमालेलाई मुख्य प्रतिस्पर्धीका रूपमा ठानेको छ ।

हल्दिवारी र गौरीगञ्जमा अध्यक्ष, कचनकवलमा अध्यक्ष, उपाध्यक्ष जितेको राप्रपाले दमकमा २, बिर्तामोडमा १–१ कचनकवलमा ३ वटा वडाध्यक्ष जितेको थियो । कचनकवलमा पूर्ण बहुमत रहेको राप्रपाले हल्दिवारीमा ६, दमकमा ४ र कचनकवलमा २२ सदस्य जितेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार ०७४ को स्थानीय तह निर्वाचनमा झापामा एमाले र कांग्रेसपछि राप्रपाले धेरै सिट जितेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्