स्कुलमा गएर टाइफाइडको खोप लगाउने तयारी



बाँके, (नेस) ।

नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ । बाँकेमा यो उमेर समूहमा एक लाख ४८ हजार ९ सय ३३ जना बालबालिका रहेका छन् ।

चैत्र २३ देखि २८ गतेसम्म खोप लगाइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई स्कुले हुने भएकाले स्कुललाई खोप केन्द्रका रूपमा विकास गरेर अघि बढिएको छ । फोकलपर्सन श्रेष्ठले दुई सय बढी विद्यार्थी भएको स्कूललाई खोप केन्द्र मानिएको छ । त्यसभन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयसँग जोडिएको छ । जिल्लामा २ सय ६४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

खोपले टाइफाइडको किटाणु मार्ने र शरीरमा शक्ति उत्पादन गर्ने जानकारहरू बताउँछन् । टाइफाइड पनि जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । स्वास्थ्य कार्यालय, बाँकेले लक्षित सबै बालबालिकालाई खोप लगाउनका लागि आन्तरिक तयारी गरिरहेको छ । यो नयाँ खोप हो । कुनै पनि बालबालिकालाई छुट्न नदिने तयारी भएको छ । बाँकेमा आम औषधि सेवनका विभिन्न अभियानहरू पनि सफल भइरहेका छैनन् । यद्यपि, बालबालिकाको लागि चलाइएका खोपको कभरेज राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्