दरबार हाइस्कूलमा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्ड उद्घाटन 

आधा दर्जन चुनौती सामना गरेर दरबार हाइस्कूल पुन निर्माण सम्भव ग-यौँ : मेयर शाक्य 



काठमाडौँ ।

भानु मा. वि. (दरबार हाई स्कुल) मा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गर्नुभएको हो ।

महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोवोटिक्सका सामग्रीहरु खरिद गरिएका हुन् । यी सामग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरूले स्मार्टको नमुनासहित विभिन्न उपकरण बनाएका छन् । यसै गरी कक्षा सञ्चालन गर्दा शिक्षकहरूले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन् । शिक्षकको निर्देशनमा विद्यार्थीहरू पनि बोर्डको प्रयोग गर्छन् ।

उद्घाटनपछि बोल्दै मेयर शाक्यले, आधा दर्जन बढी चुनौतीको सामना गरेर विद्यालय पुन निर्माण गरिएको अवस्था सुनाउँदै, विद्यालयले कस्तो परिणाम ल्याउँछ त्यसमा चिन्ता भएको उल्लेख गर्नुभयो । ‘२०७२ सालको भूकम्पले भत्किएको विद्यालय पुन निर्माण गर्दा हामीले साबिकको २ तलाबाट ४ तला बनाएका हौँ । २ तला भएको पुरानो भवनजस्तै २ तलाकै बनाउनुपर्छ भन्ने आवाज बलियो थियो ।

यसमा हामीले समयअनुसारु स्तर बढाउनु पर्छ भनेर ४ तला बनाउने निर्णयमा अडिग रह्यौँ ।’ मेयर शाक्यले, विद्यालय पुन निर्माण गर्दा चाहिने निर्माण सामग्री र मजदुर बस्नका लागि खुल्ला मञ्चको प्रयोग गर्दा पनि आफूले निकै आलोचना खेप्नु परेको अनुभव सुनाउँदै थप्नुभयो, ‘हामीले लिएको नीतिमा अटल रहेर सम्पन्न पूर्वाधार तयार पारेका छौँ । यसमा विद्यालय सञ्चालन गर्न अर्को टिम निर्माण गर्न सुझाव आएको थियो तर हामीले साबिक जनशक्तिबाट गुणस्तर आउँछ भन्ने विश्वासमा वडा समितिको आग्रहमा निरन्तरता दिएका छौँ । लगानी हामी गर्छौँ, परिणाम ल्याएर देखाउनोस् ।’

सामुदायिक विद्यालयको स्तर बढाउन काठमाडौँ महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले, २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लब (स्टिम क्लब) कार्यक्रम सञ्चालन गरिएको, नमुना विद्यालयका लागि लगानी बढाइएको जानकारी दिनुभयो । रोवोटिक्स कक्षा र इन्टरएक्टिभ बोर्डको प्रयोग भने दरबार हाइस्कूलमा मात्र गरिएको सुवेदीको भनाइ थियो ।

यस अघि इञ्जिनियरिङ् अध्ययनका लागि भर्ना हुने विद्यार्थी प्रयोग गर्न पाउने सामग्री तथा उपकरण हाम्रा विद्यालय उमेरका बालबालिकाले प्रयोग गर्ने भएका छन् । कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक शारदाकुमारी पौडेलले, महानगरको सहयोगबाट प्राविधिक विषय अध्यापन गराउन पाएको बताउनुभयो । ‘अब हामी शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्ने जनशक्ति उत्पादन गर्छौँ ।’ पौडेलको भनाइ थियो ।

वि. सं. १९१० असोज २७ गते दरबार हाई स्कुल स्थापना भएको हो । यसलाई १९३२ मा माध्यमिक तहमा स्तरउन्नति गरिएको थियो । १९४२ सालमा वीर शम्शेरले जनताका लागि पनि खुल्ला गरेका थिए । उनकै पाला (१९४८) मा विद्यालयको स्थायी संरचना बनाइएको हो ।

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको दरबार हाइस्कूल पुन निर्माणको काम भूकम्पीय विपत्तिपछि चीन सरकारको सहयोगमा भएको हो । ९ रोपनी जग्गाको ४ हजार २०० स्क्वायर मिटर क्षेत्रमा निर्माण भएको विद्यालयको पुन निर्माण लागत ८५ करोड रुपैयाँ हो । चार तले विद्यालय भवनमा ४५ वटा कोठा छन् । भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो ।

२० महिना पुन निर्माण अवधि लक्ष्य राखेर २०७५ साउन १८ गते एक औपचारिक कार्यक्रमकाबीच पुन निर्माणको काम थालिएको थियो । २०७७ कार्तिक ५ गते पुन निर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई विद्यालय हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्