कांग्रेस मकवानपुर सभापतिमा लामा



हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ । पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गर्नुभएका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा र पराजुलीसहित छलफलबाट लामालाई सभापति चयन गर्ने निर्णय भएको थियो । सोमबार भएको पहिलो चरणको मतदानमा लामाले ५ सय ९२ मत प्राप्त गर्दा पराजुलीले ५ सय ४५ मत प्राप्त गर्नुभएको थियो । अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गर्नुभएको थियो । १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।

जिल्ला सभापति लामालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पार्टी कार्यालय हेटौंडामा मंगलबार निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले नवनिर्वाचित लामालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कांग्रेसको प्रावधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । लामा, पराजुली र लामिछाने तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने लामा र निकटतम प्रतिस्पर्धी पराजुलीबीच दोस्रो चरण निर्वाचन गर्नुपर्ने अवस्था बनेको थियो । तर, दोस्रो चरण निर्वाचन नगरी सहमतिबाट लामाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउने सहमति भएको हो ।

प्रमाणपत्र ग्रहण गर्दै लामाले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको भन्दै अब सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । लामाले व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसको जित भएको भन्दै उम्मेदवार बनेका तीनै जनाको जित भएको बताउनुभयो । उहाँले आगामी दिनमा संगठन सुदृढीकरण र आगामी चुनाबी अभियानमा अघि बढ्ने योजना सुनाउनुभयो ।

‘आन्तरिक प्रतिस्पर्धा सकियो’
मंगलबार पार्टी कार्यालयमा लामा सभापति भएको घोषणा गर्ने कार्यक्रममा केन्द्रीय सहमहामन्त्री डीनाले पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएको बताउनुभएको छ । उहाँले वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसको महाधिवेशन सकिएको भन्दै नेपाली कांग्रेसको सरकारले मुलुकलाई बचाएको दाबी गर्नुभयो ।

मुलुकको आर्थिक अवस्थालाई जीर्ण हुन नदिन एमसीसीजस्तो विषययलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पास गरेर मुलुकलाई बचाएको दाबीसमेत उपाध्यायको दाबी छ । अबको स्थानीय तहको निर्वाचनमा हरेक गाउ“ तहसम्म पुगेर नेपाली कांगे्रसलाई जिताउन अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

‘जनजाति नेतृत्व’
पार्टी कार्यालयमा लामा सभापति भएको घोषणा गर्ने कार्यक्रममा कांग्रेस वागमती प्रदेश सभापति बानियाँले जनजातिको बाहुल्यता भएको मकवानपुरमा जनजातिले नेतृत्व पाएको बताउनुभयो । २०४६ सालपछि पहिलोपटक तामाङ समुदायबाट नेतृत्व पाएको भन्दै बानियाँले नेपाली कांग्रेसले सबै जातजातिलाई मिलाएर अगाडि बढाएको दाबी गर्नुभयो । ‘नेपाली कांगे्रसले कसैलाई पनि अन्याय गर्दैन भन्दै कुरा थप पुष्टि भएको छ’, उहाँ भननुहुन्छ ।

‘चुनौतीमा साथ’
सभापतिका उम्मेदवार पराजुलीले नवनिर्वाचित लामाको कार्यकालमा आउने जस्तोसुकै चुनौतीमा आफ्नो साथ रहने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले आफू सभापति नभए पनि सभापतिमा विजयी हुनुभएका लामाका हरेक चुनौतीमा सधैं साथ दिने बताउनुभयो ।

‘यो कांग्रेसको निर्वाचन हो । प्रजातान्त्रिक अभ्यास पनि हो । म सभापति नभए पनि मलाई अमूल्य मत दिएर न्याय प्रदान गर्ने कार्यकर्तालाई हरेक दुःखमा मेरो साथ रहने छ ।’ –पराजुलीले भन्नुभयो ।

८ जना निर्विरोध
नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन गर्दै जिल्ला निर्वाचन समितिले ८ जना निर्विरोध निर्वाचित भएको जनाएको हो ।

निर्विरोध निर्वाचित हुनेमा दलिततर्फ डम्बरबहादुर विक, थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने, इन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ विष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिका महिलातर्फ बच्चीमाया नेगी र वागमती गाउँपालिका खुलातर्फ शेरबहादुर रानामगर र बकैया गाउँपालिका खुलातर्फ सेतेमान बल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्