करणीसँगै हत्या कसूरमा ३६ वर्ष कैद सजाय



ताप्लेजुङ, (नेस) ।

ताप्लेजुङमा करणीपछि किशोरीको हत्या गरेको कसूरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई ३६ वर्षको कैद सजाय फैसला सुनाएको छ । पाँच महिनाअघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसूरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई अदालतले उक्त सजाय हुने फैसला सुनाएको हो ।

ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले कर्तव्य ज्यानमा जन्मकैद र करणी कसूरमा ११ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको छ । कार्कीलाई जन्मकैद २५ वर्ष र करणीको ११ गरी ३६ वर्षको कैद सजाय सुनाइएको शेर्पाले जानकारी दिनुभयो ।

कार्कीले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा बस्ने १८ वर्षीया किशोरीको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठहर्याएको छ । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययन गर्ने किशोरीलाई फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा पुर्याएर जबरजस्ती करणी गरी भीरबाट धकेलेर हत्या गरेको कसूरमा कार्कीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

आफूहरुबीच ८/९ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत भएको र विवाहको प्रसङ्गमा विवाद भएपछि हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका थिए । घटना भएको दुई दिनपछि किशोरीको निगाले भीरमा शव फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा तीन दिनपछि पक्राउ परेका कार्कीले आफैंले हत्या गरेको स्वीकारेका थिए ।

प्रतिक्रिया दिनुहोस्