कोरोनापछि गलेश्वरमा भक्तजनको भीड



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालयमा मंगलबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गत वर्ष सामान्य पूजा भएकोमा यसपटक महाशिवरात्रि पर्वको अवसरमा भक्तजनको भीड बढेको हो ।

महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनीबजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको छ गलेश्वरधाम । शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वका दिन भक्तजनले शुद्ध भई ‘ॐ नमः शिवाय’ मन्त्र जप्दै पूजाअर्चना गरी व्रत बस्ने गर्दछन् । भगवान् शिवलाई उनको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउनुपर्ने शास्त्रीय मान्यता रही आएको छ ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवको पूजा–आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको सचिव बानियाँले बताउनुभयो । महाशिवरात्रि पर्वलाई भव्य र सभ्य रूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिमार्फत काम गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुहुन्छ । गलेश्वर शिवालयमा पूजाआजा गर्न आउने श्रद्धालु भक्तजनको सहज व्यवस्थापनमा जिल्लास्थित विभिन्न संघ–संस्थाले सहयोग गरेको उहाँले बताउनुभयो । यस वर्ष करिब ३० हजारले दर्शन तथा पूजा गरेको रग्मीको कथन छ ।

महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपूजा गर्दछन् । शिवरात्रि पूजाको व्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसै गरी, शिव पूजा गर्दा ईशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्यूले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अध्यक्ष रेग्मीको भनाइ छ ।

यसैबीच म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि मगलबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । गलेश्वर शिवालयभन्दा नजिकमा रहेको बेनी शिवालयको १ सय ८ शिवलिङ्गमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको बताइएको छ । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनहरुलाई सहज रूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

खासगरी हिन्दू धर्मावलम्बीले महाशिवरात्रि पर्व मनाउने गर्दछन् । फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरुको विश्वास रहीआएको छ ।

प्रतिक्रिया दिनुहोस्