एक वर्षअघि नै सम्पन्न हुनुपर्ने धावनमार्गको कालोपत्रे हुँदै



बागलुङ ।

एक वर्षअघि नै सम्पन्न हुनुपर्ने बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम धमाधम हुँदै छ । २०७७ फागुन महिनामै कालोपत्रे भइसक्नुपर्ने भए पनि कोरोनाका कारण पटक–पटक प्रभावित भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एन्ड कम्पनी जेभी, बल्खुसँग ७ करोडमा ठेक्कामा विमानस्थलको ७ सय मिटर लम्बाई र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गर्ने गरी सम्झौता गरेको थियो । कोरोना र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रेको काम यही फागुन १ गतेदेखि शुरु गरिएको कम्पनीका प्रतिनिधि वासु थापाले बताउनुभयो ।

फागुन मसान्तभित्रै सक्ने गरी कालोपत्रेको काम भइरहेको भन्दै उहाँले हालसम्म ५० प्रतिशत कालोपत्रेको काम सम्पन्न भएको बताउनुभयो । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिले नै सकिएको थापाको भनाइ छ ।

विमानस्थलको धावनमार्ग कालोपत्रेको काम भमाधम भइरहेकाले मौसम र प्रविधिले साथ दिएमा यही महिनामै काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवाल बताउनुहुन्छ । विमानस्थल कालोपत्रेको ठेक्का चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जनाएको छ । कालोपत्रे भएसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलमा कालोपत्रे सम्पन्न भए पनि नियमित उडान हुने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनताले सुविधा पाउनेछन् ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्