घरभित्रै काटिन्छ गाई !

४० किलो मासुसहित तीन समातिए

0
Shares

बाँके, (नेस) ।

प्रहरीलाई बिहान १० बजे खजुराको चमकदारपुरमा गाई काटेको खबर आयो । इलाका प्रहरी कार्यालय, धनौलीको टोली चमकदारपुर पुग्यो । प्रहरीको गाडी देखेपछि वासिम साई भागे । वासिमको घरमा गाई काटिएको थियो ।

प्रहरीको टोली वासिमको घरभित्र पस्यो । वासिमकी श्रीमती सलमा साई गाईको मासु पोको पारेर कुनामा लुकाउन व्यस्त थिइन् । प्रहरीले वासिमको घरबाट ४० किलो गाईको मासु र हतियार बरामद गर्यो । गाई काट्न लागिपरेका स्थानीय आलम साई र कलिमुन साईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्य व्यक्ति वासिमसहित अर्का एक जना फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ । खजुराको उढरापुरमा एक महिनाअघि गाईको मासुसहित दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जना पटके थिए । उनीहरू अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

खजुरा गाउँपालिकाको उढरापुर, रनियापुर, चमकदारपुरमा गाई काटेको घटना बाहिर आइरहन्छन् । स्थानीयले घरभित्रै गाई काट्ने गरेको पाइन्छ । पक्राउ परेकी सलमाले आफूहरूले खानका लागि गाई काटेको बताउनुभयो । एउटै घरमा ४० किलो मासु खान सम्भव देखिँदैन । सलमा खानका लागि भने पनि बिक्रीवितरणका लागि गाई काटेको प्रहरीको आँकलन छ । केही वर्षअघि उढरापुरमा गाई काटेको र सुकुटी बनाएको अवस्थामा प्रहरीले ठूलो मात्रामा मासु बरामद गरेको थियो । खजुराको यी गाउँमा खानासँगै बिक्रीका लागि गाई काट्ने गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले गाई काटिरहेको अवस्थामा मासुसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । ‘४० किलो मासुसहित तीन जनालाई पक्राउ गरिएको छ । दुई जना फरार भएका छन्’, प्रवक्ता न्यौपानेले भन्नुभयो– ‘फरार रहेका दुई जनाको खोजी गरिरहेका छौं ।’गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दु समुदायले गाईलाई माताको रूपमा पूज्ने गर्दछन् । गाई काट्न नेपालमा प्रतिबन्ध रहेको छ । यो अवैधानिक काम खजुरा क्षेत्रमा भइरहेको छ । खजुरा क्षेत्रमा घरभित्रै र कतिपयले खेतमा झिसमिसेमा गाई काट्ने गरेको पाइन्छ ।