नित्य पूजाबाहेक अन्य क्रियाकलाप बन्द



हेटौंडा ।

मकवानपुरका सबै मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा नित्य पूजाबाहेक अन्य धार्मिक क्रियाकलाप सञ्चालन नगर्न आदेश जारी गरिएको छ । मकवानपुरमा कोभिड संक्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको मंगलबारको बैठकले सो निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ ले दिएको अधिकार प्रयोग गरी अर्को आदेश नभएसम्मका लागि मंगलबार मध्यरातदेखि मकवानपुर जिल्लाभर लागू हुने आदेश जारी गरिएको छ । आदेशको बर्खिलाप भए/गरेको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइएको छ ।

आदेशमा आवश्यक कामले घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने/नगराउने, भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भएर हुने सबै प्रकारका (राजनीतिकसमेत) सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव आयोजना नगर्ने/नगराउने र अत्यावश्यक नगरी नहुने कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएरमात्र गर्न भनिएको छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था तथा सहकारीले भीड नहुने सुनिश्चतता गरी भौतिक दुरी कायम एवं जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गरी/गराएर सेवाप्रवाहको व्यवस्था मिलाउन, सबै आधारभूत तथा माध्यमिक विद्यालयमा वार्षिक बिदामा मिलान हुने गरी २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार सबै विद्यालय बन्द गर्न, क्याम्पसलगायत शैक्षिक संस्थाले पूर्वनिर्धारित परीक्षा तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य गर्ने र भौतिक दुरीको प्रावधान कडाइका साथ परिपालना गर्न भनिएको छ ।

त्यस्तै, होटल, रेष्टुराँ तथा पार्टी प्यालेसलाई दैनिकरूपमा निसंक्रमित गर्ने व्यवस्था मिलाउन र कामदार तथा कर्मचारीलाई मास्कलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गरेको सुनिश्चित गर्न, उद्योग, कलकारखाना तथा व्यापार, व्यवसाय सञ्चालन गर्दा भीड नहुने सुनिश्चितता गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरिएको छ ।

सार्वजनिक यातायातमा चालक, सहचालक तथा यात्रुलाई मास्क अनिवार्य गर्ने र खोप लिएका व्यक्तिलाई मात्र यात्राको सुनिश्चितता गर्न, पार्क तथा पिकनिक स्पट र खेलमैदानमा हुने सामूहिक खेल बन्द गर्न तथा माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिकस्थान (कार्यालय, होटल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गराउँदा र सार्वजनिक सेवा प्रदान गर्दा सम्बन्धित निकायले कोभिडविरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्