सामाजिक परीक्षणको नतिजा सार्वजनिक



जाजरकोट ।

भेरी नगरपालिकाले तीनवटा स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कुदु, पुन्मा र जगतीपुर स्वास्थ्य चौकीमा गरेको सामाजिक परिक्षणबाट आएको नतिजा सार्वजनिक गरेको हो ।

नगरपालिकाभित्रका उत्कृष्ट, मध्यम र कमजोर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण गरिएको थियो । स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले सामाजिक परीक्षण गरेको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खिम पुनले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाबाट सेवा पाएका नागरिक, प्रसूति सेवा लिएका आमा, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो । नागरिकबाट आएका सुझाव सम्बोधन गर्न, स्वास्थ्य संस्थाले दिने सेवा गुणस्तर बनाउन, सरोकारवालाबाट आएका सुझाव कार्ययोजनामा समावेश गरी स्वास्थ्य संस्था सुधार गर्ने उद्देश्यले कुदु, जगतीपुर र पुन्मा स्वास्थ्य चौकीमा गरेको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको नगर स्वास्थ्य शाखा प्रमुख पुनले बताउनुभयो ।

यसबाट मातृ नवशिशु तथा बाल स्वास्थ्य, परिवार नियोजनमा पहुँच विस्तार, विकेन्द्रिकृत स्वास्थ्य सेवामा सुशासन, समानुपातिक, गुणस्तर सेवा प्रदानमा सहयोग पुग्ने सरोकारवालहरुले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्