बाक्लो हिउँले चौंरीचरनमा समस्या



हुम्ला ।

हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भए पनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल, जाङ् हल्जी, लिमी, मुचु, हिल्सालगायतका क्षेत्रमा यति बेला बाक्लो हिमपात हुँदा चौंरीचरनमा समस्या भएको हो ।

लगातार परेको बाक्लो हिउँले नाम्खा गाउँपालिका लिमीमा गाउँको चरन क्षेत्रलाई ढाक्केकाले चौंरी बचाउन समस्या भएको छ । पटक–पटक गरी चार फिटभन्दा बढी हिमपात भएपछि चौंरीपालक किसानलाई चौंरीगाई जोगाउन नै हम्मेहम्मे भएको नाम्खा–६ का वडाअध्यक्ष यपाल्जोर तामाङले बताउनुभयो । हिमपातले चौंरी चर्ने क्षेत्र सेताम्मे बनाएपछि लिमिकातिन, वटागाउँ, हल्जी, जाँग र तिलगाउँका चौंरी गोठालालाई संकट परेको छ ।

पाटनमा चर्ने चौरी जमिन हिमपातले ढाकेपछि चरनमा समस्या बनाएको चौंरी गोठाला फुन्जोक तामाङ बताउनुहुन्छ । घरमा काटेर राखिएको घाँस सकियोकाले चौंरी पाल्न कठिन भएको उहाँको भनाइ छ । सिमकोट गाउँपालिका–१ को दोजामका पेमा लामाले हिमपातले गर्दा आफ्ना ६० वटा चौंरी पाल्न समस्या भएको बताउनुभयो ।

लिमिकाती नगाउँ तिल, हल्जी र जाँङका चौरीका खर्क तुम्लिङमा चिसो निकै बढेको र चरन क्षेत्र हिमपातले ढाकिएको छ । लिमीको चरन क्षेत्र ५ हजार १ सय मिटरभन्दा अग्लो स्थानमा रहेको छ । हिमपात हुँदा केही समय रमाइलो भए पनि बालबालिका र वृद्धवृद्धालाई थप समस्या हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्