हेटौंडामा भक्तबहादुरको शालिक अनावरण



हेटौंडा, (नेस) ।

मृत्युको करिब एक दशकपछि हेटौंडा–१८ गुम्बाडाँडास्थित श्यामप्रसाद स्मृति प्रतिष्ठान परिसरमा भक्तबहादुर श्रेष्ठ (शेरसिंह) को अद्र्धकदको शालिक अनावरण गरिएको छ । हेटौंडाका उपमहानगर मेयर हरिबहादुर महतले श्रेष्ठको शालिक अनावरण गर्नुभएको हो ।

श्रेष्ठले दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताउनुभएको थियो । विभिन्न धारमा विभाजित कम्युनिस्ट नेता मोहनविक्रम सिंह, मोहन वैद्य, निर्मल लामा, प्रचण्ड, सीपी गजुरेल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द, ईश्वरी दाहाल, रामबहादुर थापालगायत भएका बेला नेकपा चौथो महाधिवेशनको श्रेष्ठ महामन्त्री हुनुहुन्थ्यो । श्रेष्ठले २००७ देखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसंगठन परिषद् गठन गरेर गाउँमा शोषण, अत्याचार र जातीय विभेदविरुद्ध काम अगाडि बढाउनुभएको थियो ।

जीवनशैलीमा सरलता, वैचारिक अडानमा प्रष्टता श्रेष्ठका विशेषता हुन् । श्रेष्ठ आफैंमा एउटा इतिहास हो । सबैजसो माओवादी नेताबारे जानकारी राख्ने श्रेष्ठलाई सबैले ‘बा’ भनेर बोलाउँथे । १९९० असोज ३ गते मकवानपुरगढीमा जन्मिनुभएका श्रेष्ठको मृत्यु २०६८ पुस २७ गते भएको थियो । श्रेष्ठ नेतृत्वको परिषद्ले गाउँमा जुवातास बन्द, साक्षरता कक्षा, सानातिना झगडा मिलाउने र न्यायनिसाफका लागि पनि परिषद् लाग्यो ।

परिषद्ले २०१० सालमा किसानको मोहियानी हक कायम गर्ने, पर्ती जमिन सुकुम्बासी र किसानलाई वितरण गर्ने अभियान चलायो । श्रेष्ठकै अगुवाइमा २०१२ सालमा साबिक हटियाको गंगटेमा सय बिघा जमिनमा बस्ती बसाउने काम भएको थियो ।

२०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका श्रेष्ठ पटकपटक गरी ८ वर्ष जेल पर्नुभएको थियो । उहाँ चौथो महाधिवेशनबाट महामन्त्री बनेपछि पञ्चायती शासकले व्यापक खोजी गर्न थालेको थियो । त्यही क्रममा २०४० सालमा उहाँ पक्राउ पर्नुभएको थियो । मेयर महतले श्रेष्ठको देहावसान भएकै दिन शालिक अनावरण गर्नुभएको हो । भक्तबहादुरका आफूहरु चेला रहेको बताउ“दै उहाँले भक्तबहादुर एक निष्ठावान कम्युनिष्ट नेता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्