तरकारीको क्रेटमा १ सय ८३ किलो गाँजा



हेटौंडा, (नेस) ।

तरकारीको क्रेटमा लुकाई ल्याएको अवस्थामा १ सय ८३ किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र सिन्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार सोमबार राति करिब ६ बजे पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ आउँदै गरेको प्रदेश–३–०१–००२२ च ३५५६ नम्बर पिकअप भ्यान चेक गर्दा तरकारीको क्रेटमा लुकाइराखिएको अवस्थामा प्रहरीले उक्त परिणामको गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोस्टमा सवारी चेक गर्ने क्रममा पिकअपमा लुकाइल्याएको गाँजा फेला पारेको हो । पक्राउ परेका सिन्तान भ्यान चालक हुन् । सिन्तानमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्