हिंसाविरुद्ध राष्ट्रिय सेवा दलको मार्चपास



काभ्रे ।

‘स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समान निर्माण हाम्रो अभियान’ भन्ने नारा बोकेको विद्यालय तहमा गठन भएको राष्ट्रिय सेवा दल काभ्रेले ‘यौन हिसा सदाका लागि अन्त्य गरौं, एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य, हाम्रो साझा सरोकार’ भन्ने नारासहित बनेपामा बृहत् मार्चपास गरेको छ ।

मार्चपास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, जनप्रतिनिधि र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । बनेपाको चारदोबाटो चोकबाट अरनिको राजमार्गको नालादोवाटो हुँदै पुरानो बजार परिक्रमा गरी बनेपा चोकमा आई समापन गरिएको थियो । मार्चपासमा विभिन्न विद्यालयमा गठन भएका राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपप्रमुख रेखा सापकोटा दाहाल, कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरी प्रमुख महेश केसीलगायत जिल्लाको सुरक्षा निकायका प्रतिनिधिहरु सहभागी थिए ।

मार्चपासमा महिला हिंसा न्यूनीकरण गर्न, मानव बेचविखन अन्त्य गर्न र यौन हिंसा रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व रहेको बताइएको थियो । सोही सन्देश दिने प्लेकार्डहरु मार्चपासमा बोकिएका थिए । विद्यालय जीवनदेखि नै बालबालिकालाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको थियो । राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थी सामाजिक कार्य तथा विपद् ब्यवस्थापनमा सक्रिय हुँदै आएका छन् ।

सिनियर र जुनियर डिभिजनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी थिए । राष्ट्रिय सेवा दल गठन गर्नुअघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।

विद्यार्थीलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरुलाई बिहान–बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ । तीनमहिने तालिममा सहभागीहरुलाई सेनाले पोशाकलगायतका आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउनेछ । विद्यालय तहमा लिइने तालिम समापनपछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरुमा ‘क्लोज क्याम्प’ मा दुई साताभन्दा लामो समय विद्यार्थीलाई सहभागी गराउनेछ । सोही तालिममा उत्कृष्ट भएकाहरुलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ ।

विशेष गरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आवद्ध भई तालिम प्राप्त विद्यार्थी सक्रिय हुन सकून् भन्ने उद्देश्यले विद्यालय तहदेखि नै विद्यार्थीले सक्रिय बनाइएको छ । नेपालमा विपद् धेरै भएकाले विपद् व्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको व्यवस्थाअनुसार कार्यान्वयन शुरु गरिएको हो । तालिमपश्चात् विद्यार्थीलाई एल्मुनाई एसोसियसनमार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्