हत्या आरोपमा चार पक्राउ



सल्यान, (नेस) ।

सल्यानमा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । गएको असार ११ गते छत्रेश्वरी गाउँपालिका–३ झिम्पे बस्ने ७० वर्षीय जमनी बुढाको हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।

हत्या आरोपमा मृतक बुढाकी काइँली बुहारी २४ वर्षीय सुशीला बुढा, माइँली बुहारी २८ वर्षीया चमेली बुढा, छोरा नाता पर्ने १९ वर्षीय कमल बुढा र कमलका बुबा ४८ वर्षीय बालाराम बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनुभयो ।

२०७८ असार ११ गते राति बुढालाई छोरा नाता पर्ने कमल र काइँली बुहारीले घाँटी थिचेर मारी भर्याङबाट लडी मरेको कुरा भनेर भारतमा रहेका अन्य घर–परिवार तथा छरछिमेकलाई जानकारी गराई काजक्रिया समेत गरेको अवस्थामा गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो ।

सबुत मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली बुढा र कमलको बुबा ४८ वर्षीय बालाराम बुढा मगरले सहयोग गरेको अनुसन्धानबाट खुल्न आएकाले हत्यामा संलग्न र सबुत मेटाउन सहयोग गर्ने चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रवक्त यादवले बताउनुभयो । भाउजू र देवरका बीच केही समय पहिलेदेखि रहेको अनैतिक सम्बन्ध लुकाउन बुढाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्