माझी समुदायका युवा वैकल्पिक पेसामा



रामेछाप ।

माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदीकिनारमा बस्दै आएका रामेछापका माझी समुदायले कोसीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुख्र्यौली पेसा नै संकटमा परेको हो ।

ठाउँ–ठाउँमा मोटररेवलपुल बनेपछि डुंगा तार्ने, माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदाय अहिले आफूनो पुख्र्यौली पेसा छोडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिर खाने, वैदेशिक रोजगारीमा जाने तथा अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको बताउनुहुन्छ मन्थली नगरपालीका–१ का हरि माझी । त्यस्तै, गैरकानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण तामाकोसी नदीमा माछा पाउन छाडेपछि कोसी किनारमा बसोबास गर्ने माझी समुदायका पुरुष वैदेशिक रोजगारीमा जाने र महिला किराना पसललगायत अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको मन्थली नगरपालिका–१ की मञ्जु माझी बताउनुहुन्छ ।

तामाकोसी नदीकिनारमा बस्ने केही भने इँटाभट्टामा काम गर्न थालेका छन् । नेपालको अतिसीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा रामेछापका माझी समुदायले आफ्ना भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए । तर, पुख्र्यौली पेसाबाट विस्थापित भएपछि माझी समुदायको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ ।

राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकअनुसार रामेछापमा माझी समुदायको जनसंख्या ६ हजार ४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्