सुरक्षा निकाय र विद्यार्थीले गरे सरसफाइ



गुल्मी ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाइ गर्न पछिल्लो समयमा कुनै निकायबाट पनि ध्यान दिएको पाइँदैन । तर, तम्घास बजारका मुख्य स्थानमा सुरक्षा निकाय विद्यार्थीको उपस्थितिमा सरसफाइ गरिएको छ ।

राष्ट्रिय सेवा दल (एनसीसी) नेपालको १४औं वार्षिकोत्सवको अवसरमा गुल्मी सदरमुकाम तम्घास बजारका विभिन्न स्थानमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकाय तथा विद्यार्थीले सरसफाइ गरेका हुन् । ‘मिलीजुली कायम गरौं नेपालीको भातृत्व ग्रामीण क्षेत्रको विकास, हामी सबैको साझा दायित्व’ भने नाराका साथ स्वच्छ जीवन, स्वच्छ वातावरण सरसफाइ हाम्रो अभियान उद्देश्य लिएर सरसफाइ गरिएको थियो ।

सरसफाइका क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सरसफाइ भनेको व्यक्तिगत तहबाट शुरु हुने विषय भएकाले सरसफाइ गर्न सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो । घर–परिवार, समाजबाट सरसफाइ गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने भए पनि संस्थागत हिसाबले स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने उहाँको कथन छ ।

गुल्मी अस्पताल वरपरदेखि प्रशासन हुँदै चिदिचौरसम्म सरसफाइ गरिएको थियो । जिल्लामा सरसफाइको अवस्था राम्रो भए पनि पछिल्लो समय भने नागरिक स्तरबाट सरसफाइको महत्व बिर्सिंदै गएका छन् । जसले गर्दा सरकारी निकायकै अगाडि रहेको थ्रीडी पार्कसहित सार्वजनिक स्थानमा फोहोर बढ्दै जान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्