स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित



डोटी, (नेस) ।

डोटीको जोरायल गाउपालिकामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित भएका छन् । जिल्ला स्वस्थ्य कार्यालयको आयोजनामा यहाँको वडा नं २ बुडर स्वस्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा दम, टिभी, सुगर, मुटु रोग र प्रेसरसम्बन्धी चेक जाँच गरिएको स्वास्थ्य चौकीका प्रमुख गणेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ जना महिला र ४८ जना पुरुष गरी ५१ जनाले उक्त शिविरबाट स्वास्थ्य सेवा लिएका छन् ।

जिल्लामा अत्यधिक चिसो शुरु भएकाले यहाँका नागरिकको स्वास्थ्यको ख्याल गर्दै र विभिन्न नसर्ने रोगका बारेमा जानकारी दिन उक्त एक दिने स्वस्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यलयका निमित्त स्वस्थ्य प्रमुख उद्धवसिंह ठगुन्नाले बताउनुभयो । चिसोको समयमा पनि नसर्ने रोग भेटिन थालेकाले नसर्ने रोगहरुबाट ग्रसित मानव तथ्याङ्क पनि लिन आवश्यक भएकाले ती रोगको जानकारी लिने उद्देश्यले देशैभर तथ्यङ्क सङ्कलन गर्ने कार्य भइरहेकाले यहाँका बिभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्