फ्लड लाइटमा विकेन्ड फुटबल लिग



काठमाडौं ।

नेपाली खेलकुदमा सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको रूपमा ए डिभिजन लिग फुटबललाई लिन सकिन्छ । प्रतियोगिताले पहिले पनि धाक जमाएको थियो, अहिले पनि धाक जमाइरहेकै छ । हाल जारी ‘ए’ डिभिजन लिगले पनि यस्तै संकेत गरिरहेकोले भविष्यमा ‘ए’ डिभिजन लिगको प्रभाव अझै बढ्ने नै छ भन्ने आस गर्न सकिन्छ ।

दशरथ रंगशालामा सञ्चालित लिग फ्लड लाइटमा यसको आकर्षण बेग्लै छ । अर्को विकेन्डमा लिग आयोजना भइरहेको छ । यसले पनि लिगको चार्म बढेको छ । चार दिन खेल्ने र तीन दिन विश्राम गर्ने यो लिग रोमाञ्चक बन्दै गएको छ । एक हिसाबले यो लिग युरोपियन लिग सरह गइरहेको छ । दिउँसो पनि खेल भइरहेको छ तर, फ्लड लाइटमा खेलमा दर्शक बढी उपस्थित भइरहेका छन् ।

पुस महिनामा लागेर चिसो बढिरहेको अवस्थामा पनि दर्शकले चिसोको कुनै वास्ता नगरी निर्धारित समयसम्म खेल हेरेका छन् । दर्शक आफ्नो प्रिय टिमका खेलाडीलाई हौसला बढाउन आइरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष उपेन्द्रमान सिंहको विश्वास रहेको छ । उहाँले बताउनुभयो—‘जति जति खेल हुँदै जान्छन् त्यति नै फ्लड लाइटमा वीकेन्ड फुटबलको चार्म बढ्दै जानेछ । फ्लड लाइटमा खेलाउँदा विदेशको लिगको आभास पनि दिइरहेको छ भन्ने धेरै दर्शकबाट सुनेको छु ।

एन्फाका उपाध्यक्ष सिंहले यसलाई फुटबलमा दर्शकको मोह बताउनुहुन्छ । नेपालमा दर्शक छैन भन्नेलाई यो चड्कन पनि हो सिंहले बताउनुभयो—दर्शक आइरहेका छन् । अझ दशरथ रंगशालामा लाइटमा खेलाउँदा यसको चमक अझै बढेको छ । लिगलाई चार दिन खेलाउने गरेकोले पनि यसको चमक बढेको हो । सबैको फुर्सद हुने समय भएको हुँदा बेलुकी धेरै दर्शक आउँछन् भनेर नै यो समय रोजेको हो । नेपाली फुटबलले बेहोरेको जस्तोसुकै नतिजा भए पनि उहाँहरूले फुटबललाई माया गर्नुहुन्छ । लिगको चार्म विस्तारै बढ्ैछ र दर्शक पनि बढ्दैछन् ।

लिगमा करोडौं पुरस्कार
यति मात्र होइन लिगमा रकम पनि धेरै खर्च गरिएको छ । पुरस्कार रकम पनि निकै मोटो रहेको छ । लिग जित्ने टिमले ७५ लाख रकम पाउनेछ । त्यस्तै, दोस्रो हुने टिमले ५० लाख रकम पाउनेछ । २५ लाख रकम तेस्रो हुने टिमले प्राप्त गर्नेछ । यस्तै हरेक टिमलाई तयारी गर्नको लागि एन्फाले २० लाख रकम प्रदान गरिएको छ ।

सहभागी १४ टिमलाई गरेर २ करोड ८० लाख रकम खर्च गरिएको छ । लिगमा नतिजाअनुसार पनि रकम छुट्टयाइएको छ । प्रत्येक जितमा ५० हजार र बराबरी नतिजामा २५/२५ हजार नगद पुरस्कार दिइनेछ ।

पाँचौं चरणसम्मको नतिजाअनुसार मनाङ मस्र्याङदी क्लबले २ लाख ५० नगद सुरक्षित गरिसकेको छ । पाँचौं चरणका खेल समाप्तिसम्म मनाङले ४ खेल जितेको र एकमा बराबरी नतिजा बेहोरेको छ । मनाङले संकटाविरुद्धको खेलमा हारलाई टारेर २–२ बराबरी नतिजा बेहोरेको हो । मनाङ अहिले अंकतालिकामा १३ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै, गत संस्करणको विजेता टिम मच्छिन्द्रले ३ जित र २ बराबरीसँगै २ लाख नगद सुरक्षित गरिसकेको छ । टिम ११ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा विभागीय टिम त्रिभुवन आर्मी क्लब छ । आर्मीले ३ बराबरी र २ जितसँगै ९ अंक जोडेको छ । आर्मीले एन्फाको पुरस्कार घोषणा अनुसार अहिलेसम्म १ लाख ७५ हजार नगद सुरक्षित गरेको छ । चौथो स्थानको संकटाको पनि ९ अंक रहेको छ । संकटाले पनि १ लाख ७५ हजार नगद सुरक्षित गरेको छ ।

तर, आश्चर्यरूपमा यसपटक सातदोबाटो युवा क्लबले पाँचौं चरणको खेल समाप्तिसम्म पाँचौं स्थान हात पारेको छ । ८ अंक जोडेको सातदोबाटोले थ्रीस्टार, पुलिस, एपीएफ जस्ता ‘ए’ डिभिजनका ठूला टिमलाई पछाडि पारेको छ । सातदोबाटो पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको टिम हो । यसको बाबजुद सातदोबाटोले थ्रीस्टारलाई हराएर जारी लिगमा अहिलेसम्म सबैभन्दा स्तब्ध नतिजा निकालेको छ ।

रेलिगेसनको मारमा
पाँचौं चरणका खेल समाप्तिसम्म रेलिगेसन क्षेत्रमा फ्रेन्डस् क्लब र च्यासल युथ क्लब रहेका छन् । च्यासल १ जित, १ बराबरी र ३ हारसँगै ४ अंक जोडेर १३औं स्थानमा रहेको छ । त्यस्तै, फ्रेन्डस् २ बराबरी र ३ हारसँगै २ अंकसहित पुछारमा रहेको छ ।

जावलाखेल र एपीएफले पनि च्यासल सरह ४ अंक जोडेका छन् । उनीहरू पाँचौं चरणमा जित हात पार्दै रेलिगेसन क्षेत्रबाट उम्केका हुन् । यसको मतलब उनीहरू सुरक्षित भएको भन्ने पनि होइनन् । लिगमा अझै ९ चरणका खेल बाँकी रहेकाले रेलिगेसनको होड रोमाञ्चक बन्ने देखिएको छ ।

कुल ६५ गोल
पाँचौं चरणका खेल समाप्तिसम्म जारी लिगमा कुल ६५ गोल भएका छन् । दोस्रो र चौथोमा क्रमशः ७ र ९ गोल मात्रै आएको थियो । सबैभन्दा बढी तेस्रो चरणमा १८ गोल भएको थियो । त्यस्तै, पहिलो चरणमा १६ गोल हुँदा पाँचौं चरणमा १५ गोल भएका थिए ।

यीमध्ये ६ खेलमा गोल भएका थिएनन् । जारी लिगमा सातदोबाटोका अजायी मार्टिन्सले सर्वाधिक ४ गोल गरिसकेका छन् । उनी गोल गर्ने सूचीमा शीर्ष स्थानमा रहेका छन् । यस्तै, तीन गोल गर्नेमा मच्छिन्द्रका सुनील बल, संकटाका नीरज बस्नेत, पुलिसका सुमन लामा र एपीएफका आशिष लामा रहेका छन् ।

होम ग्राउन्डको सदुपयोग
‘ए’ डिभिजन लिगमा पहिलोपटक होम ग्राउन्डको सदुपयोग भएको छ । यो लिगको इतिहासमा पहिलोपटक यस्तो अवसर जुटेको हो । मनाङ मस्र्याङदी क्लबले होम ग्राउन्डको रूपमा पोखरा रंगशालालाई प्रयोग गरेको हो ।

पाँचौं चरणको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई पाहुनाको रूपमा प्रतिद्वन्द्वी बनाउँदै काठमाडौंबाट पोखरामा लिग खेल खेलेको हो । योसँगै लिग पहिलोपटक दुई शहरमा खेलिएको छ । उक्त खेलमा होम ग्राउन्डको फाइदा लिँदै मनाङले पुलिसलाई ३–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्