काठमाडौंबाहिर पहिलोपटक ‘ए’ डिभिजन लिग



विजय नेपाली, काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेल खेल्न मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब पोखरा आइपुगेका छन् । शनिबार हुने लिग अन्तर्गतको ३२औँ खेल खेल्न दुवै टिम पोखरा आइपुगेका हुन् । खेल खेलमा मात्रै सीमित नरहेर लिगको इतिहास फेर्ने समयको रूपमा समेत लिइएको छ ।

पोखराका लागि यी दुई टिम नौलो टिम भने होइनन् । पोखरामा आयोजना हुने आहा ! रारा गोल्डकपमा यी दुई टिम आमनेसामने भइसकेका छन् । त्यो पनि ७ पटकसम्म (क्याराभान गोल्डकप सहित) । दुई टिमबीच पोखरामा भएको खेलमा त्यति ठूलो हार–जितको अन्तर नरहे पनि जितका आधारमा मनाङ नै अघि रहँदै आएको छ ।

यद्यपि, अहिले भने आहा रारा कपमा होइन लिगकै खेल खेल्दछन् । जुन खेल ‘ए’ डिभिजन लिगको इतिहासमै पहिलोपटक मोफसलमा भिड्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक होम एन्ड अवे (घरभित्र र बाहिर) खेलको अवधारणा अघि सार्दै गर्दा मनाङले खेल पोखरामा ल्याउन सफल भएको हो । जसलाई पुलिससहित ब्रिगेड ब्वाइज क्लब र च्यासल युुथ क्लबले साथ दिएको छ ।

होम खेल नभए पनि यो त्यसैको अभ्यास हो । मनाङले क्लबहरूलाई काठमाडौं बाहिर खेल्नका लागि आह्वान गर्दा यी ३ क्लबले मात्रै स्वीकार गरेका हुन् । त्यसैको पहिलो खेल नेपाल पुलिससँग खेल्न लागेको हो ।

लिगको खेल अंक बढाउने मात्र रहे पनि पोखरा र मनाङका लागि यो खेल निकै महत्वपूर्ण मानिन्छ । मनाङले पोखरालाई घरेलु मैदानको रूपमा मान्दै गर्दा दर्शकको साथ पाए त्यसैमा सफलता मिलेको मान्नेछ । किनकि, खेलले आगामी दिनमा समेत पोखरामा मात्र नभई देशका अन्य अन्य सहरमा लिगका खेल हुने वा नहुने भन्ने निर्धारण गर्नेछ ।

यो कुरामा क्लब मात्र होइन सिंगो एन्फा र लिग कमिटी पनि सहमत छ । पोखरामा खेलाइने लिगको खेलको सबै व्यवस्थापन मनाङकै काँधमा छ । जसको फाइदा वा वेफाइदा मनाङलाई नै हुनेछ । उक्त कुरामा एन्फाको पनि साथ छ । एन्फाले पनि पोखरामा हुने खेलमा आम्दानी हुने वा खर्च हुने सबै मनाङलाई नै जिम्मा दिएको छ । यसो त क्लबमा लामो समय आबद्ध रहेको राजीव गुरुङ (दीपक मनाङे) पनि अहिले खेलकुदमन्त्री छन् गण्डकी प्रदेशको । जुन कुरा क्लबका लागि फाइदाको विषय पनि हो ।

एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा हुने खेलको आय–व्यय क्लबले नै व्यहोर्ने बताए । उनले पोखरामा लिग खेल्न दुवै टिम आएको बताए । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै लिगबारे जानकारीसमेत दिइएको थियो । सिंहका अनुसार पहिलोपटक राजधानीबाहिर लिग लैजाने अभ्यास चलिरहेको र उक्त खेल सबैभन्दा पहिला पोखरामा नै आएको हो ।

‘हामीले पहिलोपटक होम अवेको अवधारणा ल्यायौँ । सबै क्लबको आफ्नै मैदान नभएका कारण हामीले खेलाउन सकिरहेका छैनौँ । होम अवे अवधारणाअनुरूप हामीले राउन्ड रोविन लिगलाई डबल गर्ने र होम अवे यही सिजन खेलाउने भनेका थियौँ तर क्लबहरूले यो वर्ष राउन्ड रोविन मात्रै गर्ने भनेपछि हामी पनि सोहीअनुसार गयौँ’ उनले भने,‘पोखरामा खेलाउने खेलको तालिका किन ढिला भयो भन्ने विषय भनेको प्राविधिक कुरा हो । २०११ सालदेखि लिग शुरू भएको हो । लिगको इतिहासमा पहिलोपटक राजधानी बाहिर खेल हुदैँछ ।’ उनले लिग सम्पन्न गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए । ३ क्लब सहमति भएपश्चात् एन्फामा पत्र आएका कारण लिग पोखरा खेल्न दिइएको हो ।

लिग कमिटी संयोजक सञ्जीव मिश्रले पोखरामा हुने खेलले लिगलाई मोफसलले समेत अपनत्व लिन खोजको सन्देश दिन खोजेको बताए । लिगको नयाँस्वरूप लिएको बताउँदै उनले आगामी दिनमा देशका सबै शहरहरूले यसरी नै लिग गरेमा लिगको महत्व बढ्ने बताए । लिगलाई उत्कृष्ट बनाउनुमा आमदर्शक र समर्थककै हात हुने उनी बताउँछन् ।

उता मनाङ भने पोखरामा खेल जित्नेमा आशावादी देखिएको छ । क्लबका सदस्य विजय घलेले पोखरा आफूहरूको घरेलु मैदान भएकाले दर्शको साथ पाउनेमा विस्वस्त देखिन्छन् ‘हामीले पोखरामा दर्शकको माया पाउँछौं । यो हाम्रो घर पनि हो । पोखरामा नै सबैभन्दा बढी दर्शकको साथ छ । त्यसैले पनि हामीलाई खेल जित्नैपर्ने दबाब पनि रहिआएको छ’ उनले भने–‘पोखरा स्पोट्र्सको हब पनि हो । होम अवे खेलको ट्रायलको रूपमा हामीले पोखराबाट शुरुवात गरेका छौँ ।’

कास्की जिल्ला फुटबल संघ भने लिगखेल पोखरामा आउनु नै ठूलो रूपमा लिइरहेको छ । संघका अध्यक्ष मिलन गुरुङले लिगका खेल पहिला नै पोखरा आउनुपर्ने भए पनि नआएको र अहिले आउँदा फुटबलको ठूला खेल पोखरामा सम्भव शुरुवात भएको बताए ।

प्रतिक्रिया दिनुहोस्