क्रिकेट बलले दर्शकको टाउको फुट्यो



लन्डन, (एजेन्सी) ।

अहिले अस्ट्रेलियामा बिग बाश टी–२० लिग चलिरहेको छ । यही बिग बासअन्तर्गत एक खेलमा बल लागेर एक दर्शकको टाउको फुट्यो । होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको खेल दौरान उक्त घटना घटेको थियो ।

होबार्टका ब्याटर बेन म्याकडरम्याटले गरेको प्रहारले खेल हेर्न आएका दर्शकको टाउको फुटेको थियो । उनको टाउकोबाट रगत बगेको थियो । म्याकडरम्याटले टिमलाई जित दिलाउन कोशिस गर्ने क्रममा विस्फोटक ब्याटिङ गरेका थिए । लक्ष्य पाउन ब्याटिङमा उत्रेको होबार्टको राम्रो शुरुवात भएको थिएन ।

यसैले, म्याकडरम्याटले ठूला ठूला शट खेल्न थालेका थिए । यसै क्रममा उनले पर्थका फास्ट बलर एन्ड्रयु टाइको एक बललाई छक्का प्रहार गरेका थिए । यही बल दर्शकलाई लागेको थियो ।

यो बल यति तीव्रगतिमा आयो कि ती दर्शकले आफ्नो टाउकोमा लाग्नबाट बचाउन सकेनन् । उनी त्यही ढलेका थिए । यो भिडियो बीबीएलले आफ्नो आधिकारिक ट्वीटरमा सेयरसमेत गरेको थियो । उक्त खेलमा पर्थले १ सय ८३ रनको बलियो लक्ष्य दिएको थियो । जसमा मिचेल मार्सले ६० बलमा शतक प्रहार गरेका थिए । जवाफमाहोबार्ट १ सय २९ रनमै समेटियो र ५३ रनले हारेको थियो । होबार्टका लागि म्याकडरम्याटले सर्वाधिक ४१ रन बनाएका थिए ।

उक्त लिगमा नेपालका सन्दीप लामिछानेले होबार्ट हरिकेन्सबाट खेलिरहेका छन् । उनले सो खेलमा एक विकेट लिन सफल भएका थिए । उनले ४ ओभरमा ३२ रन खर्चेका थिए । तर, उनको टिमले भने जित हासिल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्