जावलाखेलको लगातार तेस्रो हार



काठमाडौं । 

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले लगातार तेस्रो हार बेहोरेको छ ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पिन मच्छिन्द्र क्लबले जावलाखेललाई ३–० ले हराएको हो । जावलाखेलको लागि जारी लिगमा लगालग तेस्रो हार भएको छ ।

योसँगै ललितपुरको टिमले रेलिगेसनबाट बच्न कसरत गर्नुपर्ने भएको छ । अघिल्ला खेलमा जावलाखेल नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लबसँग हारेको थियो ।मच्छिन्द्रको जितमा आत्मघाती गोल र रञ्जित धिमालको सानदार गोल रहेका छन् । खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोल भएपछि मच्छिन्द्रले १–० को अग्रता लिएको थियो । २१औं मिनेटमा रञ्जितले फ्रिकिक प्रहारमा सीधै गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

दोस्रो जितसँगै मच्छिन्द्र तीन खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा यति नै अंक जोडेर सातदोबाटो युथ क्लब रहेको छ । ‘ए’ डिभिजनमा डेब्यु गरेको सातदोबाटोले अप्रत्यासित नतिजा निकाल्दै लिगलाई रोमाञ्चक बनाइरहेको छ । सातदोबाटोले जारी लिगमा सबै भन्दा स्तब्ध नतिजा थ्रीस्टारलाई हराएर निकालेको छ ।
जारी लिगमा तेस्रो चरण समाप्ति हुँदासम्म अंकविहीन हुने दुई टिम रहेका छन् ।

एउटा जावलाखेल र अर्को विभागीय टिम एपीएफ क्लब हुन् । लिगको प्रावधानअनुसार पुछारमा रहेका दुई टिम रेलिगेसनमा पर्ने रहेको छ । यो अनुसार अहिलेसम्म यी दुवै टिम रेलिगेसनको शिकार हुनेतिर अग्रसर छन् । त्यसो त लिगमा अझै १० चरणका खेल खेल्न बाँकी नै छन् ।

शेर्पा र पुलिस बराबर

हिजोको पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग नेपाल पुलिस क्लब १–१ बराबरीमा रोकियो । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । विश्वासले खेल शुरू भएलगतै गोल गर्दै जारी लिगकै छिटो गोल गरेका थिए । उनले ५३ सेकेन्डमा पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीलाई लाग्दै गोल भएको थियो ।

विभागीय टिम पुलिसले यसको जवाफ फर्काउन निकै कसरत गर्नुपरेको थियो । सुमन लामाले ६०औं मिनेटमा गोल गरेपछि पुलिस हार टार्न सफल भएको थियो । विगतमा प्रतिद्वन्द्वीमाथि हावी हुने पुलिसको टिम हाल निकै खस्किँदो खेल पस्किरहेको छ । पुलिसले जारी लिगमा तीन चरणका खेल समाप्ति हुँदासम्म मात्र ५ अंक जोडेको छ । यसअघि पुलिसले त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो भने जावलाखेल युथलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्