गुरुङ स्पोर्ट्स हाउस कप मंगलबारदेखि



काठमाडौं । 

गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार शुरू हुँदै छ । पाँचदिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।

१५ लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा ४० वर्षभन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नवीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मकरूपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

गोंगबु बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ । एक टोलीमा पाँच खेलाडी समावेश हुनेछन् । चार खेलाडी मैदानमा उपस्थित हुनेछन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘काजी’ लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्