तीन तहको सकियो, तीन तहको बाँकी

कांग्रेस महाधिवेशन



रामकृष्ण चापागाईं, काठमाडौं  ।

 प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वडा, पालिका हुँदै प्रदेशसभा क्षेत्रसम्मको अधिवेशन सम्पन्न गरेको छ । मंसिर २४ देखि २६ सम्म १४औं महाधिवेशन गर्न लागेको यो पार्टीको अब तल्लो तहअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्न बाँकी छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन भोलि सोमबार शुरु हुँदै छ । यसअघि १४ जिल्ला र १५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । कूल २१ जिल्लामा अधिवेशन प्रक्रिया अघि बढिसकेको छ । तर, सर्लाही र रसुवा दुई जिल्लाको अधिवेशन भने अनिश्चित छ । सर्लाहीमा दुईपटक जिल्ला निर्वाचन अधिकृत खटाइए पनि अधिवेशन हुन सकेन भने यसअघि रसुवामा खटाइएका जिल्ला निर्वाचन अधिकृत पनि फर्किसकेका छन् । यी दुई जिल्लामा पुनः निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको निर्वाचन समितिका सदस्य घिमिरे बताउनुहुन्छ ।

शुक्रवारदेखि शुरु भएको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुन अझै एक-दुई दिन लाग्ने बताइएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३ सय २० क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको थियो । तीमध्ये अधिकांश क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि केही क्षेत्रमा प्रक्रिया मात्र अघि बढेको छ । सर्लाहीको ८ वटा प्रदेशसभा र रसुवाको दुईवटा प्रदेशसभा क्षेत्रको अधिवेशन अझै अनिश्चित छ ।महधिवेशन कार्यतालिकाअनुसार भोलि सोमबार १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्नुपर्ने थियो । निर्वाचन समितिले तोकिएको मिति भन्दा दुई-चार दिन ढिलो–चाँडो अधिवेशन सम्पन्न हुने जनाएको छ ।

महाधिवेशनका लागि जिल्ला अधिवेशनभन्दा पनि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनु अनिवार्य छ । महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्न आउने महाधिवेशन प्रतिनिधि १ सय ६५ निर्वाचन क्षेत्रबाट चुनिएर आउँछन् ।प्रत्येक निर्वाचन क्षेत्रबाट सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउनुका साथै केन्द्रीय समिति, भातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि र ७७ जिल्ला सभापति गरी कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ५ सयदेखि ५ हजारसम्म प्रतिनिधि हुने अनुमान गरिएको छ ।
जिल्ला सभापति, निर्वाचन क्षेत्रबाट आउने प्रतिनिधि र केन्द्रीय समितिका प्रतिनिधिको संख्या यकिन भए पनि भातृ एवं शुभेच्छुक संघ–संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिको संख्या यकिन भइसकेको छैन ।

कांग्रेस कार्यकर्ताबीच कुटाकुट

आफू पक्षका उम्मेदवार हार्ने निश्चित भएपछि भैरहवामा गृहमन्त्री बालकृष्ण खाँणको आडमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले आफूहरूमाथि आक्रमण गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आरोप लगाएको छ ।भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा शनिबार २ः३० बजेतिर झडप भएको थियो । झपडमा क्षेत्रीय सचिवका उम्मेदवार शैलेशकुमार पन्त गम्भीर घाइते भएका छन् । उनको हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

शुक्रबार राति रूपन्देहीको प्रदेश क्षेत्र नम्बर ३ (क) को मतगणनास्थलमा झडप हुँदा पाँच जना घाइते भएका थिए । घटनापछि पौडेल समूहले अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री खाँणको आड र जिल्ला सचिवसमेत रहेका भाइ रामकृष्ण खाँणको निर्देशनमा निर्वाचन बिथोल्ने गरी आफूहरूमाथि मध्यरातमा आक्रमण भएको आरोप लगाएको छ ।

गृहमन्त्री खाँणको आफ्नै गृह र निर्वाचन क्षेत्रमा राजनैतिक उद्देश्य प्राप्त गर्ने दूराशयले आफ्नै नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै पौडेल समूहका नेताहरूले निन्दा गरेका छन् ।पौडेल पक्षले विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन गृह प्रशासनसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्