कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताउनुभएको छ ।

महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ ।

निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरिक विवादका कारण अवरुद्ध भएपछि कात्तिक २७ देखि पुनः प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको प्रक्रिया नै शुरु नभएको १४ जिल्ला सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा २७ गतेदेखि वडा अधिवेशन हुँदै छ । यसअघि रसुवा र रौतहटको क्रियाशील विवाद कायमै रहेकाले अन्योल थियो । पछिल्लो समय रसुवाको विवाद टुंग्याएको कांग्रेसले रौतहटको विवाद पनि टुंग्याएको छ । निर्वाचन समितिका संयोजक यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक भएको छ । ‘दुई जिल्लाको विवाद थियो त्यो पनि टुंगियो’, संयोजक यादव भन्नुहुन्छ– ‘अब कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढ्छ, सबै तयारी पूरा भइसकेको छ ।’

हालसम्म कांग्रेसको ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । कार्यतालिकाअनुसार २७ गतेदेखि अधिवेशन प्रक्रिया शुरु गर्न लागिएको जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते गरिँदै छ भने प्रदेशसभा अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते गरिँदै छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन भने मंसिर १० गते हुँदै छ ।

निर्वाचन समितिका अनुसार सोलुखुम्बु, दार्चुला र म्याग्दी तीन जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर २७ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १ गते गरिँदै छ । यसअघि रोकिएको जुम्लाको जिल्ला अधिवेशन पनि मंसिर १ गते हुँदै छ । पालिका अधिवेशन सम्पन्न भइसकेको ४६ जिल्लामा भने प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते र जिल्ला अधिवेशन १० गते हँुदै छ । प्रदेश अधिवेशन भने मंसिर १६ र १७ गते हुने कार्यतालिका छ ।

नेतृत्वका लागि नयाँ समीकरण बन्दै

निर्धारित कार्यतालिका भित्रै १४औं अधिवेशन हुने सुनिश्चितता बढ्न थालेसँगै केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरू नयाँ समीकरण निर्माणतिर लागेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरी तयारी अघि बढाएको दुई महिना पुग्न लागिसक्यो । सभापतिका अर्का आकांक्षी डा. शेखर कोइरालाले त सभापतिको दाबी गर्दै तयारीस्वरूप जिल्ला दौडाह शुरु गरेको चार वर्ष भइसक्यो । १३औं महाधिवेशनलगत्तै डा. कोइरालाले १४औं महाधिवेशनका लागि तयारी थाल्नुभएको हो ।

आसन्न महाधिवेशनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी रहिरहेकै बेला अर्का नेता कृष्णप्रसाद सिटौलाले आफ्नो छुट्टै टिमसहित नेतृत्वको दाबी गर्ने बताउनुभएको छ । कांग्रेसभित्र सभापति देउवाले पुनः नेतृत्व दोहोर्‍याउने बताएपछि संस्थापनइतर समूहबाट देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिने निर्णयले सार्थकता नपाएसँगै कांग्रेसभित्र नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।

कांग्रेसभित्र तीन गुट छ । संस्थापन समूह (देउवा पक्ष), वरिष्ठ नेता पौडेल पक्ष र सिटौला पक्ष । यो अधिवेशनमा चौथो गुटका रूपमा निधि पक्ष देखिने भएको छ । पौडेल गुटका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिको दाबी नछोड्ने संकेत गरेका छन् । देउवाको समूहबाट छुट्टिएका निधिले पनि नेतृत्व दाबी नछाड्ने भएपछि पौडेल र सिटौलाले के गर्लान् भन्ने आम चासो रहेको छ । यसअघिको अधिवेशनमा दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका सिटौलाले यो अधिवेशनमा पनि देउवासँगै समीकरण गर्ने अनुमान गरिए पनि उहाँले छुट्टै टिमका साथ नेतृत्व दाबी गर्ने बताउँदै आउनुभएको छ । देउवा भने सिटौला नभए पौडेललाई साथ लिएर भए पनि पुनः नेतृत्व लिने दाउमा हुनुहुन्छ ।

दुईभन्दा बढी सभापतिको उम्मेदवार हुँदा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने सम्भावना बढेको छ । कांग्रेस अधिवेशनमा दुईभन्दा बढी सभापतिको उम्मेदवार भए ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधान छ । दोस्रो चरणमा भने पहिलो र दोस्रो मत ल्याउने बीच मात्र प्रतिस्पर्धा हुन्छ । आसन्न महाधिवेशनमा मतदाताका रूपमा रहने महाधिवेशन प्रतिनिधि ५ हजारको हाराहारीमा आउँदै छन् ।

१४औं अधिवेशनमा सभापतिमा देउवा, निधि, सिटौला, सिंह, कोइराला र पौडलमध्ये चार उम्मेदवार भए ५० प्रतिशत मत कसैले पनि कटाउन नसक्ने र १ हजार मत ल्याउने उम्मेदवार दोस्रो हुने आँकलन गरिएको छ । नयाँ समीकरणको जोड–घटाउमा लागेका नेतृत्वका आकांक्षी नेताहरूले क्षत्रीय अधिवेशनपछि अझ स्पष्ट धारणा सार्वजनिक गर्ने बताएका छन् । महाधिवेशनमा नेतृत्व चयन गर्न आउने महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट नै निर्वाचित हुन्छन् ।