वीर गणेशमान सिंह राष्ट्रिय टेनिस हुने



न्यूज अफ नेपाल, काठमाडौं ।

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय नेता सिंहको स्मृतिमा आगामी कार्तिक ९ गतेदेखि १६ गतेसम्म ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो । आगामी मंगलबारबाट सुरु हुने प्रतियोगितामा सिनियर महिला, पुरुष र जुनियर छात्र तथा छात्रातर्फ विभिन्न २३ विधामा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रतियोगितामा सिनियरतर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ४५ माथि उमेर समूहतर्फ एकल र युगल, पुरुष ५५ माथि उमेर समूहमा एकल र युगल हुनेछन् । त्यस्तै, जुनियरतर्फ छात्र तथा छात्रा आठ, नौ, १०, १२ र १४ वर्ष मुनी उमेर गरि १० विधामा स्पर्धा हुनेछ ।

त्यस्तै, छात्र तथा छात्रा खुला युगल गरि थप दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फका विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष र महिला युगल विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ३५ वर्ष माथि उमेरअन्तर्गत एकलतर्फका विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्दा पुरुष ३५ वर्ष माथि उमेर समूहतर्फ युगलका विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ४५ माथि उमेर समुहतर्फ एकलको विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ भने युगलको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष ५५ वर्ष माथि उमेर समूहतर्फ एकलका विजेताले नगद २० हजार रुपैयाँ, उपविजेता र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने युगलतर्फको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै पुरुष ६५ वर्ष माथि एकलतर्फका विजेताले १५ हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ हात पार्नेछन् जुनियर विधातर्फका विजेताहरुले आकर्षक पुरस्कार हात पार्ने प्रतियोगिताको संयोजक भाष्करमान सिंहले जानकारी दिए । करिब चार सय खेलाडी सहभागी हुने अनुमान गरिएको यस प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्