लुम्बिनीमा जम्बो मन्त्रीमण्डल विस्तार



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेशमा सरकार गठन भएको करिब २ महिनापछि आइतबार मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डललाई पूर्णता दिँदै १७ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाउनुभएको छ ।

संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्रीसहित १० जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन, वातावरण तथा भू–संरक्षण र रूपन्देहीका बसिउद्दिन खाँ शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री हुनुभएको छ ।

यस्तै, कांग्रेसबाटै राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिनुभएको छ । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री हुनुभएको हो । यसै गरी, माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री हुनुभएको छ ।

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनुभएको छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुभएको छ ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । केसीको सात सदस्यीय मन्त्रीमण्डलमा आइतबार माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका गरी १० जना थपेर १७ सदस्यीय मन्त्रीमण्डल बनेको हो । लुम्बिनी प्रदेश सबैभन्दा जम्बो मन्त्रीमण्डल बनाउनेमा पहिलो प्रदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्