ईश्वरराज ढकाल, काठमाडौं ।
दशैं शुरू भएलगत्तै राजधानीमा खसीबोकालगायतका चौपाया खरिद–बिक्री गर्नेको घुइँचो लाग्न थालेको छ । खाद्य व्यापार कम्पनीले हिजोबाट थापाथलीस्थित कार्यालयबाट खसीबोकाको बिक्री शुरू गरेको हो । त्यस्तै, कलंकी खसिबजार, टुकुचा र बालाजु व्यापार केन्द्रमा पनि खसीबोकालगायत चौपायाको खरिद–बिक्री शुरु भएको छ ।
खसीबोका बिक्री गर्नुअघि काठमाडौं महानगरपालिका पशुसेवा महाशाखाको चिकित्सकसहितको टोलीले राजधानी भित्रने चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ चौपायाको सिङमा रातो रङ लगाएपछि मात्र बिक्री गर्ने अनुमति पाउनेछन् ।
कामपा, प्रदेश र संघ सरकारको सहभागितामा राजधानी र त्यससँग जोडिएका जिल्लाका चौपायाको व्यापकरूपमा परीक्षण शुरु गरिरहेको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख वरिष्ठ पशु चिकित्सक अवधेश झाले बिक्रीका लागि उपत्यका भित्रिएका चौपायाको परीक्षण नगरी खरिद गर्न पूर्ण रोक लगाइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘परीक्षण नगरिएका चौपाया खरिद नगर्नुहोस्, यदि खरिद गर्नुपर्ने भएमा सिङमा हरियो रङ लगाएको हेरेर मात्र खरिद गर्नुहोस् ।’ महाशाखा प्रमुख डा. झाले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिने र यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रङ लगाइने र बिरामी भएर खान अयोग्य भेटियो भने सिंङ्मा रातो रङ लगाइने बताउनुभयो । उहाँले बिरामी चौपायाको आवश्यकताका आधारमा रगत नमुना संकलन गरेर परीक्षण गरिने जानकारी पनि दिनुभयो ।
उहाँले ५० जना चिकित्सकसहितको टोलीले राजधानीको बालाजु, चुकुचा, कलंकी, कोटेश्वरलगायत क्षेत्रका बिक्री केन्द्रमा खसीबोकालगायत चौपायाको स्वाथ्य परीक्षण गरी खान योग्य र अयोग्य छुट्टयाउने गरेको जानकारी दिनुभयो ।
थापाथलीस्थित खाद्य कम्पनीको कार्यालयमा घटस्थापनाको दिनदेखि परीक्षण शुरु गरिएको छ । कामपा पशुसेवा महाशाखा प्रमुख डा. झाका अनुसार दैनिक करिब ५ सयको हाराहारीमा परीक्षण गर्ने गरी तयारी थालिएको छ ।
यो दशैंमा पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालिएको हो । स्थानीय तहसहितको टोलीले अहिलेसम्म करिब ६ हजार खसीबोकालगायत चौपायाको स्वाथ्य परीक्षण गरिसकेको र यो क्रम असोज २८ गतेसम्म जारी रहने महाशाखा प्रमुख डा. झाले जानकारी दिनुभयो । पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ लगाएर परीक्षणको थालनी गर्नुभएको थियो ।
विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् । छुट्टाछुट्टै टोलीले आधा दर्जन बिक्री केन्द्रमा स्वाथ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
संघीय सरकारले कामपासँगै ललितपुरको लगनखेल, भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण गर्ने तयारी गरेको छ ।
बजारमा टोलीले चौपायाको स्वास्थ्य परीक्षणसँगै व्यापारी र उपभोक्तलाई स्वच्छ र स्वस्थ्य मासुजन्य खाद्यवस्तुको उत्पादन र कोविड–१९ को सम्भावित संक्रमणबाट जोगिन सचेतना बढाउँदै स्वाथ्य मापदण्ड पालना गर्न पनि आग्रह गरिरहेको बताइएको छ ।
परीक्षणका क्रममा चिकित्सकको टोलीले रोगी पशुपन्छीको ओसारपसार, नगर्नं, तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थ्यताको चिनो हरियो रङ भएका चौपाया मात्र खरिद विक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र मासु खान आग्रह गरेको छ ।
खाद्यले तोक्यो खसीबोकाको मूल्य
खाद्य तथा व्यापार कम्पनीले यो दशैंमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलोग्राम ६ सय ४० रुपियाँमा तोकेको छ । प्रतिकेजी ६ सय ५० कायम गरिएको खसीबोकाको मूल्यमा १० रुपिया छुट दिएर ६ सय ४० कायम गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिनुभयो ।
कम्पनीले दैनिक ५ सय खसीबोका बिक्रि गर्ने गरी करिब २ हजार खसीबोका कम्पनीको बिक्री केन्द्र थापाथली ल्याएको छ । कम्पनीले बिहान ७ देखि दिउँसो ५ बजेसम्म बिक्रि गर्ने व्यवस्था मिलाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक चन्दले महँगी बढेका कारण चीनबाट च्याङ्ग्रा ल्याउन नसकिएको जिकिर गर्दै हाल कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका खरिद गरी राजधानी ल्याएको जानकारी दिनुभयो ।











प्रतिक्रिया