जर्मनीमा मन्डेले जिते दुई स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं ।

जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण पदक जितेको छ ।

उक्त चार स्वर्णमा दुई स्वर्ण मन्डेकाजी श्रेष्ठले जितेका हुन् । नेपालले थप २ कांस्य पदक पनि जितेको छ । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेका हुन् । उनी नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल भएका खेलाडीसमेत हुन् ।

यस्तै, सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै, सुमन तिमल्सिनाले पुरुष सिनियर एकल कातामा कांस्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन् ।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्