आर्मीले जित्यो गल्फ उपाधि



नेपाल समाचारपत्र, काठमाडौं । 

त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबले नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि मंगलबार जितेको छ ।
त्रिभुवन आर्मीले काउन्ट ब्याकको आधारमा गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगिताको उपाधि हात पारेको हो । त्रिभुवन आर्मी र गोकर्ण गल्फ क्लबले समान १२ ओभर ३ सय स्कोर गरेका थिए ।

हालै सम्पन्न दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले उपाधि दिलाएका हुन् ।अघिल्लो दिन २ स्ट्रोकले गोकर्ण गल्फ क्लबसँग पछि परेको आर्मीले १२ ओभर ३ सय स्कोर बनाएको थियो । गोकर्ण गल्फले पनि यति नै स्कोर गरेपछि खेल टाइट भएको थियो । विजेताको निर्णय काउन्ट ब्याकको आधारमा गर्दा त्रिभुवन आर्मीले बाजी मार्न सफल भएको थियो । आर्मीका लागि सुवासले दुई अन्डर ७० तथा निश्चयले ५ ओभर ७७ स्कोर गरेका थिए ।

गोकर्ण गल्फका सद्भाव आचार्य र टासी छिरिङले अघिल्लो दिनको अग्रतालाई अन्तिम दिनसम्म जोगाउन सकेनन् । सद्भावले पार खेले भने टासीले ७७ स्कोर गरेका थिए । उनीहरूले दोस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । प्रतियोगितामा पोखराको हिमालयन गल्फ कोर्सले तेस्रो स्थान हासिल गरेको थियो । धरान गल्फ क्लब भने चौथो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्