भारतीय खेलाडी सम्मिलित गण्डकीको जित



नेपाल समाचारपत्र, काठमाडौं  । 
गण्डकी प्रदेश छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा जित हात पारेको छ ।
मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मणिमुकुन्द क्लबलाई ३–२ सेटले हरायो । तर, जित हासिल गरे पनि गण्डकीले पूरा ३ अंक भने जोड्न सकेन । मणिमुकुन्दले दुई सेट जितेपछि गण्डकीले २ अंक मात्रै जोड्यो र हारका बाबजुद मणिमुकुन्दको खातामा एक अंक परेको छ ।

भारतीय खेलाडी सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ मा संघर्ष गरी आफ्नो पक्षमा पारेको थियो ।
यसपछिका दुई सेट भने मणिमुकुन्दले जित्यो । मणिमुकुन्दले २५–१८ र २७–२५ ले सेट हासिल गरेपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । पाँचौं तथा निर्णायक सेट पनि रोमाञ्चक बनेको थियो । यो सेटमा गण्डकी प्रदेशले बाजी मार्दै अन्ततः जित हासिल गरेको थियो । यो सेट गण्डकीले १५–१३ ले जितेको थियो । यसका साथै समूह ‘बी’मा रहेको गण्डकीको ५ अंक भएको छ भने यस समूहको शीर्ष टोली पुलिसको ६ अंक छ । यी दुवै टोलीले अन्तिम आठमा स्थान सुरक्षितसमेत गरेका छन् ।

यस्तै, दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । हेल्प नेपालले सो खेल २५–२१, २५–१७, २५–१६ को सोझो सेटमा जितेको थियो ।

यसका साथै समूह ‘ए’ बाट हेल्प नेपाल र गलकोट स्पोर्टस् समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन् ।महिलातर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो । एपीएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो । यस्तै, होङ्वाङजी न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्