नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु



म्याग्दी ।

राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । गण्डकी प्रदेशमा आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको राखेपले जनाएको छ । पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रीलगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।

राखेप सदस्य गुरुङ र गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष भोजबहादुर गुरुङ सहितको टोलीले आज म्याग्दीका खेलमैदान र कबर्ड हलको निरीक्षण, जिल्ला खेलकुद विकास समिति र खेल सङ्घका पदाधीकारीसँग छलफल गरेको छ । कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्री, खेल सङ्घका पदाधीकारी र प्राविधिक टोलीसहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाव्यता अध्ययन गरिसकेको छ ।

टोलीले बेनीको कालीपुलमा रहेको बाँस्केटबल, खुल्लामञ्च र चुत्रेनीको खेलमैदानको निरीक्षण गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण २०७७ फागुन २१ गतेदेखि सञ्चालन गर्ने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको थियो ।

‘‘२०७८ फागुन ६ देखि १६ सम्म प्रतियोगिता आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको छ’’, सदस्य गुरुङले भन्नुभयो, ‘‘कोरोना सङ्क्रमणको दर घटेको, पूर्वाधार तयार भएको, कोरोना विरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेकाले फागुन महिनासम्म प्रतियोगिता गर्न सकिन्छ ।’’

खेलकुद मन्त्री नियुक्त हुने वित्तिकै मिति घोषणा गरेर पालिका, जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीहरुलाई सदस्य गुरुङले आग्रह गर्नुभयो । राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल आयोजना गर्ने योजना बनाएको छ ।

यद्यपि अधिकांश खेलहरू पोखरा महानगरभित्रै हुनेछन् । पौडीको पूर्वाधार तयार भएको र सुटिङ खेलका लागि पनि पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताउनुभयो । मुख्य खेलस्थलका रूपमा रहने पोखरा रङ्गशाला निर्माण सकिएको छ । एक हजार जना दर्शक क्षमताको रङ्गशालाको चारैतर्फ प्यारापिट जडान भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्