बार्सिलोनाको सानदार जित



मेड्रिड, (एजेन्सी) ।

युवा स्टार अन्सु फाती १० महिनापछि फर्किएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ ।

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३–० गोलअन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपाए, लुक डि जोङ र अन्सु फातीले गोल गरे । सातौं मिनेतमा डिपाएले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । लेभान्तेका नेमान्जा राडोजाले डिपाएलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसलाई डिपाएले सही सदुपयोग गरे । १४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए । लगातार गोलको अवसर बनाएको बार्सिलोनाले पहिलो हाफमै थप तीनवटा अवसर खेर फालेको थियो । ७० प्रतिशत बल पोसेसन राख्न सफल बार्सिलोनाले २० वटा पोस्ट प्रहार गरेको थियो । तर, बार्सिलोनाको तेस्रो गोल इन्जुरी समयमा मात्र सम्भव भयो ।

दोस्रो हाफको इन्जुरी समयमा अतिरिक्त खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान प्रवेश गरेका थिए । गत नोभेम्बरमा घाइते भएका फातीले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भए । बार्सिलोनाका सर्जिनो डेस्ट भने ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । लिगमा अपराजित यात्रा कायम राखेको बार्सिलोनाको ६ खेलबाट १२ अंक जोडेको छ । पराजित लेभान्तेको चार अंक रहेको छ ।

आइतबार राति नै भएको खेलमा रियल सोसिडाडले पनि इल्चेलाई १–० गोलअन्तरले हरायो । सोसिडाडको जितमा माइकल ओयर्जाबलले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बन्यो । उनले इगोर जुबेल्डियाको पासमा गोल गरेका थिए । पराजित इल्चेको ६ अंक रहेको छ । त्यस्तै, अन्य खेलमा बेटिसले गेटाफेलाई २–० ले, रायो भालेकानोले क्याडिजलार्ई ३–१ ले र ओसासुनाले मालोर्कालाई ३–२ गोलले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्