नेपोलीको अपराजित यात्रा कायमै



रोम, (एजेन्सी) ।

नेपोलीले जारी सिजनको इटालियन सिरी ‘ए’ लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

आइतबार राति भएको खेलमा नेपोलीले शतप्रतिशत जितलाई निरन्तरता दिने क्रममा क्याग्लिएरीलाई २–० ले हराएको हो । लगातार छैटाैँ जित निकाल्ने क्रममा नेपोलीलाई घरेलु मैदानमा जित दिलाउन भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोना नेपोलीमा भएको उक्त खेलको ११औं मिनेटमा घरेलु टोलीलाई भिक्टर ओसिमहेनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । त्यस्तै, खेलको ५७औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत् गोल गर्दै नेपोलीलाई २–० को सहज जित दिलाए । नेपोलीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको क्याग्लिएरीमाथि बल पोसेसनमा समेत पकड बनाएको थियो । जितपछि नेपोलीले १८ अंक जोडेको छ । पराजित क्याग्लिएरीको भने दुई अंक मात्र रहेको छ ।

इटालियन सिरी ‘ए’ अन्तर्गत नै भएको अर्को खेलमा लाजियोले रोमामाथि रोमाञ्चक जित निकाल्दै तीन अंक जोड़्यो । लाजियोले घरेलु मैदानमा रोमालाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा लाजियोको जितमा सेर्गेज मिलिन्किोभिक साभिक, पेड्रो रोड्रिग्वेज र फिलिपे एन्डरसनले गोल गरे । रोमाका रोजर इवानेज र जोर्डन भेरेटआउटले गोल फर्काए ।

खेलको १०औं मिनेटमा सेर्गेज मिलिन्किोभिक साभिकको गोलबाट लाजियोले अग्रता लिएको थियो । उनले फिलिपे एन्डरसनको पासमा गोल गरेका थिए ।

त्यस्तै, १९औं मिनेटमा सिरो इमोविल्लेको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । पेड्रोले आफ्नै पूर्वक्लबविरुद्ध गोल गरेका हुन् । उनी यसै समरमा रोमाबाट लाजियो पुगेका थिए । ४१औं मिनेटमा रोजर इवानेजले जोर्डन भेरेटआउटको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

त्यस्तै, ६३औं मिनेटमा फिलिपे एन्डरसनले सिरो इम्मोविल्लेकै पासमा गोल गरेपछि लाजियो जिततर्फ अघि बढ्दा रोमाको जितको सम्भावना टाढिएको थियो । ६९औं मिनेटमा रोमाका जोर्डन भेरेटआउट पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए पनि हार टार्न सकेन । जितपछि लाजियोको ६ खेलबाट ११ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्