दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन् ।

पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह ‘ब’मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

यसैगरी, गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशमाथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै, दोश्रो दिन पनि गलकोटले प्रदेश नं. २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी शुरुआत गर्दै बागमती प्रदेशमाथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरूलाई प्राथमिकतामा राखेको छ । यस्तै, जित निकाल्ने क्रममा भारतीय खेलाडीहरू सम्मिलित गण्डकी प्रदेशले दावाली मिलन क्लबमाथि ३–१ को जित निकाल्यो । दावाली क्लबले प्रस्तुत गरेको निकै नै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्