ईपीएलमा वर्षा खलनायक बन्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

असोज महिनाको सिजन चलिरहेको छ । दसैं, आउन लागेको अवस्थामा बेहान बेलुकी मौसम चिसो हुन थालिसकेको छ । तर, यस्तो खुलेको मौसममा दिनहुँ कुनै पनि बेला वर्षा भइदिँदा कीर्तिपुरमा चलिरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) प्रभावित भएको छ । विदेशी खेलाडीको समेत जमघट भएको ईपीएलका तीन खेल वर्षाको चपेटामा आउँदा नमज्जा पनि लागेको छ ।

असोज १० गते शनिबारदेखि ईपीएलको चौथो संस्करण आयोजना भएको हो । कोरोनाको कारण मिति सर्दै जाँदा बल्ल प्रतियोगिता आयोजना भए पनि बेला–बेलामा वर्षाले खलनायकको भूमिका खेलिरहेको छ । यसले आयोजक, सहभागी टिमका खेलाडीका साथै क्रिकेटप्रेमीलाई न्यास्रो बनाइदिएको छ । आइतबार र सोमबार गरी तीन खेल वर्षाकै कारण हुन सकेनन् । यद्यपि, शनिबार काठमाडौं किंग्स इलेभेन र ललितपुर प्याट्रियट्सबीचको उद्घाटन खेलमा पनि केही हल्का पानी परेको थियो । तर, खेलमा व्यवधान भएको थिएन ।

उक्त खेलका आकर्षक खेलाडी पाकिस्तानका अलराउन्डर साहिद अफ्रिदी थिए । उनलाई हेर्न कीर्तिपुर जाने हरेक गाडीमा क्रिकेट समर्थकको भीड थियो । यस्तै, मैदानमा पनि भीड थियो भने मैदान बाहिरबाट हेर्ने पनि त्यत्तिकै दर्शक थिए । काठमाडौंबाट खेलेका अफ्रिदीले ब्याटिङ नगर्दा छक्का, चौकाको वर्षा हेर्न आएका दर्शक निराशचाहिँ भएका थिए । तर, उनले बलिङ गरे पनि कुनै विकेट हात पार्न सकेनन् । यो खेल काठमाडौंले जितेको थियो ।

दोस्रो दिन आइतबार चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएर प्रतियोगितामा जितबाट शुरुआत गरेको थियो । तर, सोही दिन अर्को खेल भने वर्षाको कारण रद्द गर्नुपरेको थियो । अर्को कुनै विकल्प नहुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थगित भएको थियो । उक्त खेलमा पोखरा राइनोजले पहिले ब्याटिङ गर्दै १० ओभरमा ७ विकेटको क्षतिमा ६५ रन बनाएको थियो । त्यसपछि, वर्षा भएपछि खेल हुन सकेन र दुवै टोलीले अंक बाँडेका थिए ।

सोमबार तेस्रो दिन पनि पानी पर्दा त्रिवि मैदानको क्रिकेट मैदान भिजेको थियो । यसले गर्दा हिजोको दुवै खेल स्थगित गर्नुपरेको थियो । दुई खेलमा काठमाडौं किंग्सले विराटनगर वारियर्ससँग तथा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सविरुद्ध खेल्नु थियो । तर, भिजेको मैदानको अवस्थाले खेल हुन सकेन । यदि, अर्को दिन विकल्पको रूपमा खेलाउन सकेन भने चितवन र काठमाडौंको २ खेलबाट ३/३ अंक हुनेछ भने भैरहवाको २ अंक हुन्छ । यस्तै, विराटनगरले १ अंक बटुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्