गोकर्ण गल्फ क्लबको अग्रता



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल टुरिजम कप गल्फ प्रतियोगितामा गोकर्ण गल्फ क्लबले त्रिभुवन आर्मी अफिसर्स् क्लबमाथि २ स्ट्रोकको अग्रता लिएको छ । गोकर्णका टासी छिरिङ र सद्भाव आचार्यले ७ ओभरमा १ सय ५१ स्कोर बनाएका हुन् । टासीले २ ओभर ७४ स्कोर गर्दा सद्भावले ५ ओभर ७७ स्कोर गरेका हुन् ।

त्रिभुवन आर्मीबाट नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका सुवास तामाङले प्रतिस्पर्धा गरेका छन् । उनले १ ओभर ७३ स्कोर गरेका थिए । उनका पार्टनर मेजर निश्चय जंग रायमाझीले ८ ओभर ८० स्कोर बनाएका थिए । उनीहरूले कुल ९ ओभरमा १ सय ५३ स्कोर गरेपछि गोकर्ण शीर्ष स्थानमा पुगेको हो ।

यस्तै, रोयल नेपाल गल्फ क्लब तेस्रो स्थानमा रहेको छ । रोयल नेपालले २४ ओभर १ सय ६८ स्कोर गर्दा मिथुन राईले १० ओभर ८२ स्कोर र सुरज श्रेष्ठले १४ ओभर ८६ स्कोर गरेका थिए । तीनदिने प्रतियोगिताका अन्तिम चरणका खेल आज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्