संसद्मा अवरोध जारी



काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीबीच सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको सन्देश पढेर सुनाउनुभएको छ ।

प्रतिनिधिसभाको नवौं अधिवेशन शुरू भएदेखि नै अवरोध गर्दै आएका एमालेले सोमबारको बैठकमा पनि अवरोध खडा गरेका थिए । बैठक शुरू हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गरेर बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले नियमितरूपले बैठक अवरुद्ध गर्दा महत्वपूर्ण विषयहरूमा छलफल हुन बाधा पुगिरहेकोतर्फ सांसदहरूको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सभा सञ्चालनका लागि सहयोग गर्नु सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरू राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्नो आसन ग्रहण गरी सहयोग गर्न बारम्बार आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहलाई एमालेका सांसदले बेवास्था गरेर नाराबाजी कायमै राखेपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी सूचना पढेर सुनाउनुभएको थियो ।

प्रतिनिधिसभाको सोमबारको बैठक ६ मिनेटमै सकिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गतेका लागि तोकिएको छ ।
सर्वोच्च अदालतको फैसलाअनुसार संसद्को आठांै अधिवेशन साउन ३ गते बसेको थियो । संसद्को आठौं अधिवेशन साउन ३ देखि ३२ सम्म सञ्चालन भएको थियो । संसद्को नवौं अधिवेशन भदौ २३ गतेबाट शुरू भएको छ । यस बीचमा संसद्को ८ वटा बैठक बसेको छ र आठवटै बैठकमा एमालेको अवरोध कायमै राखेको छ ।

सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै एमालेले संसद्मा निरन्तररूपमा अवरोध गर्दै आएको छ भने सभामुख अग्नि सापकोटाले अवरोधकै बीच संसद्को काम कारवाहीलाई अगाडि बढाउँदै आउनुभएको छ । सभामुखले संसद्मा जारी अवरोध हटाउन सर्वदलीय छलफल गरे पनि आफ्नो माग सम्बोधन नभएको भन्दै एमालेले सर्वदलीय छलफल बहिष्कार गरेको थियो । त्यसयता सभामुख र एमालेका नेताहरूबीच संवादसमेत हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्