प्रदेश भलिबलका लागि टिम छनोट



बैतडी, (नेस) ।

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट यही असोज १३ गतेदेखि गरिने भएको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जिल्लाभरिबाट आएका खेलाडीहरूको छनोट प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुने जनाए । छनोटमा जिल्लाभित्रकै खेलाडी हुनुपर्ने जनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई छनोटमा सहभागी हुन नपाउने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

उक्त छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने नौ जनालाई छनोट गरी टिम बनाइने अध्यक्ष भण्डारीले बताए । छनोट भएका जिल्लाका खेलाडीलाई असोज १४ देखि १७ गतेसम्म प्रशिक्षण दिइनेछ । छनोट भएको जिल्लाको टिमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना प्रदेशस्तरीय छनोट प्रतियोगिता धनगढीमा असोज २० देखि २३ सम्म सञ्चालन हुनेछ ।

उक्त छनोट प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रर्दशन गरेका १२ खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्