रियल मेड्रिडले अंक बाँड्यो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मेड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली रियलले ४९ प्रतिशत बल पोजिसन राखेको थियो । रियललाई कडा टक्कर दिएको पाहुना टोली भिल्लारियलले ५१ प्रतिशत बल पोजिसन राख्न सफल भयो । रियलले १५ वटा पोस्ट प्रहार गर्दा भिल्लारियलले ६ वटा पोस्ट प्रहारको अवसर बनायो ।

रियलको लगातार प्रयासमा भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्ली बाधक बने । जारी लिगमा उच्च लयमा देखिएका रियलका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियर खेलभर भिल्लारियलका डिफेन्सको नियन्त्रणमा परेका थिए । यसअघि, बेन्जेमाले आठ र भिनिसियसले पाँच गोल गरिसकेका छन् । भिल्लारियलको प्रहारलाई पनि रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारेका थिए । रियलका सेन्टर ब्याक इडर मिलिटाओ ‘म्यान अफ दी म्याच’ घोषित भए । बराबरीसँगै लिगमा रियलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । सात खेलबाट पाँच जित र दुई बराबरी नतिजा निकालेको रियलको १७ अंक छ । रियलसँग अंक बाँडेको भिल्लारियल आठ अंक रहेको छ ।

शनिबार राति नै भएको खेलमा साविक विजेता एट्लेटिकोलाई डिर्पोटिभो अलाभेसले १–० गोलअन्तरले स्तब्ध पार्‍यो । अलाभेसको जितमा भिक्टोर लागुरडिया नायक बने । भिक्टोरले चौथो मिनेटमै रुबेन डुअर्टेकोे पासमा गोल गरेका थिए । हारपछि एट्लेटिको मेड्रिडको १४ अंक छ । लिगमा पहिलो जित निकालेको अलाभेसले तीन अंक जोडेको छ । अर्को खेलमा सेभियाले पनि स्पान्योललाई २–० गोलले हरायो । सेभियाको जितमा युसुफ इन नासेरीले १३औं र राफा मिरले ८७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाको ६ खेलबाट १४ अंक पुगेको छ । पराजित स्पान्योल ६ अंक रहेको छ । अर्को खेलमा भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्