पीएसजीको अपराजित यात्रा कायमै



पेरिस, (एजेन्सी) । 

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

जारी सिजनको लिग वानमा शतप्रतिशत जितलाई निरन्तरता दिने क्रममा पीएसजीले मोन्टेपेलिएरलाई २–० गोलअन्तरले पराजित गरेको हो । यो समेत पीएसजीको लगातार आठौं जित हो । पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा इड्रिसा गाना गुआईको गोलमा पीएसजीले अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा एन्डर हेरेराको प्रहार क्रसबारमा लागेर फर्कदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

खेलको ८८औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीको जित पक्का गरे । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । जितपछि पीएसजीको ८ खेलबाट २४ अंक पुगेको छ । पराजित मोन्ट पेलिएरको भने ९ अंक मात्र रहेको छ । शनिबारै भएको अन्य खेलमा निसले सेन्ट इटिएनलाई ३–० ले हराउँदा लिलले स्टार्सवर्गलाई २–१ ले तथा लियोन र लोरिएन्ट १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्