साफ खेल्ने नेपाली टोली घोषणा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अक्टोबर १ देखि आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम २३ खेलाडीको घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीमध्येबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । अन्तिम २३ खेलाडी छानिदा गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लैजाने बताए पनि एन्फाले २३ सदस्यीय टोली मात्र घोषणा गरेको हो । साफले अन्तिम टोलीमा २३ सदस्य रहने भए पनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लैजान पाउने प्रावधान छ ।

नेपाली टोलीले आइतबार ओमानविरुद्धको मैत्रीपूर्ण खेलअघि अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

साफमा खेल्ने २३ सदस्यीय नेपाली टोली :

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नीतिन थापा, पूजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी र तेज तामाङ ।

प्रतिक्रिया दिनुहोस्