विभागीय टोलीको जितबाट शुरुआत



नेपाल समाचारपत्र, काठमाडौं ।

विभागीय टोलीहरूले आइतबारदेखि शुरू भएको छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ जितबाट शुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएका खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले जित हात पारेका हुन् । उद्घाटन खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले पहिलो सेट २५–१७ ले जितेर विपक्षी टोलीमाथि पहिल्यै दबाबमा पुर्‍याएको थियो । त्यसपछि, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१३ ले पुलिसले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै, दोस्रो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा हरायो । यो खेलमा ढोरपाटनले एपीएफलाई पहिलो सेटमा हराएको थियो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो र खेल रोमाञ्चक बन्ने संकेत बनेको थियो । तर, यसपछिका सेटमा एपीएफले सानदार खेल देखाएपछि ढोरपाटन टोलीले आत्मसमर्पण गर्नुपरेको थियो । यो खेल एपीएफले २६–२८, २५–१८, २५–१३, २५–१५ ले जित्न सफल भएको थियो ।

तेस्रो खेलमा बाग्लुङको गल्कोट स्पोर्ट्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकाल्दै विजयी शुरुआत गर्न सफल भयो । पहिलो सेट २५–१८ ले हात पारेको गल्कोटले दोस्रो र तेस्रो सेट समान २५–१७ ले आफ्नो पोल्टामा पारेको थियो । यस्तै, त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई २५–८, २५–१४ र २५–७ को सोझो सेटमा हरायो । सन्तुलित देखिएको आर्मीलाई कर्णाली टोलीले दरो चुनौती दिन सकेन । कर्णालीले केवल दोस्रो सेटमा दोहोरो अंक जोड्न पाएको थियो ।

असोज १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत महिलातर्फको खेल असोज १२ गतेदेखि शुरू हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेका छन् । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स रहेका छन् । समूह ‘बी’ मा पुलिस, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।

त्यस्तै, समूह ‘सी’ मा त्रिभुवन आर्मी, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह ‘डी’ मा एपीएफ, बुढानीलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोर्ट्स रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, ढोरपाटन स्पोर्ट्स र पुलिस रहेका छन् । समूह ‘बी’ मा होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सीधै सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा विजेता हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ पुरस्कार हासिल गर्नेछन् । दोस्रो हुने टोलीले समान २ लाख तथा तेस्रो हुने टोलीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । विभिन्न विधाअन्तर्गत स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौं संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय टोली एपिएफ च्याम्पियन बनेको थियो । त्यस्तै, पाँचौं संस्करणको लिगमा हेल्प नेपाल र न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्