८ दिनमा २८ लाखको बिरयानी



लाहोर, (एजेन्सी) ।

न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तान भ्रमण रद्द गरेको चर्चा अझै थामिएको छैन ।

न्युजिल्यान्डले पाकिस्तानको क्रिकेट टोलीसँग ३ वानडे र ५ टी–२० खेल खेल्नुपर्ने थियो । तर, न्युजिल्यान्ड टोलीले सुरक्षाको कारण देखाई पाकिस्तान भ्रमण रद्द गर्‍यो । पाहुना टोलीले रावलपिन्डीमा पहिलो वानडे खेल्न ३० मिनेटअघि यस्तो निर्णय लिएको थियो ।

न्युजिल्यान्डको यस्तो अचम्मको निर्णयलाई लिएर पाकिस्तानमा बबाल भइरहेको छ । पाकिस्तानी क्रिकेट समर्थकले न्युजिल्यान्डमाथि घोकाको आरोप लगाएका थिए । अब यसै घटनासँग सम्बन्धित अर्को मामिला सामुन्ने आएको छ, जसको चर्चा खुब भइरहेको छ ।

पाकिस्तानी मिडियाको रिपोर्टअनुसार न्युजिल्यान्डका क्रिकेट खेलाडीलाई सुरक्षामा खटेका सेक्युरिटी टोलीलाई ख्वाउनमा मात्रै २८ लाख खर्च भएको छ । इस्लामाबादको एक होटलमा ८ दिनसम्म न्युजिल्यान्डको टोली बसेको थियो । उनीहरूको सुरक्षामा करिब ५ सय सुरक्षाकर्मी तैनाथ गरिएको थियो । उनीहरूका लागि दिनमै दुईपटक बिरयानी उपलब्ध गराएको थियो । ८ दिनमा बिल आउँदा २८ लाख आएको जनाएको थियो ।

यो मामिलाको खुलासा त्यतिबेला भयो जब बिललाई पास गराउन वित्तीय विभागमा पठाएको थियो । यतिका ठूलो रकम आएपछि बिल पास गर्न रोकेको छ । बिलको सत्यतालाई लिएर अनिश्चितता बनिरहेको छ । किनभने अहिलेसम्म यसमा आधिकारिक बयान पनि सामुन्ने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्